काठमाण्डौ । अमेरिकासँगको बढ्दो व्यापार तनावकाबीच चीन अब एशियाली देशहरुमा केन्द्रीत हुन थालेको छ । पछिल्लो समय चीन एशियाली देशहरुमा व्यापारको सम्भावानको खोजीमा लागि परेको छ ।
यसै क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार मलेसिया पुगेका छन् । यसपछि उनी कम्बोडिया जानेछन् ।
राष्ट्रपति जिनपिङ दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा छन् । उनको भ्रमणको उद्देश्य यी देशहरूसँग आर्थिक सहयोग बढाउनु रहेको छ । राष्ट्रपति जिनपिङ मंगलबार भियतनाम पुगेका छन् । त्यहाँ उनले धेरै सम्झौतामा हस्ताक्षर गरे।
वास्तवमा, अमेरिकाले दक्षिण पूर्वी एसियाका केही देशहरूमा धेरै उच्च शुल्क लगाएको छ। जसमध्ये भियतनाममा ४६ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशत महशुल लगाइएको छ । तर, अमेरिकाले यो शुल्कमा ९० दिनका लागि रोक लगाएको छ ।
विश्वभरका सरकारहरूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग करवृद्धिको विषयमा सहमति जुटाउने प्रयास गरिरहेका छन् भने अर्कोतर्फ चीनले धेरै देशलाई करको विरोधमा एकजुट हुन अपिल गरिरहेको छ ।
यस अमेरिकी करको जवाफमा चीनले अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकारहरूलाई चीन र भियतनामबीचको वार्ताको उद्देश्य ‘अमेरिकालाई कसरी नोक्सान’ गर्ने भनेर पत्ता लगाउनु थियो।
उता अमेरिकाले राष्ट्रपति जिनपिङको भ्रमणलाई नजिकबाट नियालीरहेको छ ।