काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी फिल्ममा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी चलचित्रमा शतप्रतिशत महसुल लगाएका छन् ।आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा यो घोषणा गर्दै ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग एकदमै तीव्र गतिमा ध्वस्त हुँदैछ। अन्य देशहरूले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहन दिइरहेका छन्।’
उनले यो अन्य देशको संगठित प्रयास भएकोले यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ भएको बताए ।
ट्रम्पले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई विदेशी फिल्ममा शतप्रतिशत शुल्क लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिएको बताएका छन्।उनले लेखेका छन्, ‘हामी अमेरिकामा फेरि फिल्म बन्न चाहन्छौं ।’
जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्। करहरूले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहित गर्नेछ र रोजगारी बचाउने उनको विश्वास छ ।
तर उनको यो निर्णयले विश्व अर्थतन्त्रमा तरंग पैदा गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                