काठमाण्डौ । चीनले देशभरका अधिकारीहरूलाई यात्रा, खाना र कार्यालय खर्च कटौती गर्न आग्रह गरेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले अनावश्यक खर्च रोक्नको लागि चालेको कदमको एक हिस्साका रूपमा यो निर्णय गरिएको हो ।
देशको आर्थिक अवस्था राम्रो नभएको र सरकारको बजेटमाथि दबाब बढ्दै गएकाले यस्तो गरिएको जनाइएको छ । यस्तो अवस्थामा सरकारले बजेटमाथिको दबाब कम गर्न विभिन्न पहल गरिरहेको छ । जिनपिङ सरकारको यो निर्णयले चीनको वास्तविक आर्थिक अवस्थालाई दर्शाएको जनाइएको छ। सिन्ह्वा रिपोर्टका अनुसार चिनियाँ सरकारले अधिकारीहरूलाई अनावश्यक खर्च रोक्न कडा मेहनत गर्न र बचत गर्न भनेको छ। चिनियाँ सरकारको यो आदेशको प्रभाव सेयर बजारमा देखिएको छ ।
यतिबेला चीनमा जग्गा बिक्रीबाट हुने आम्दानीमा कमी आएको छ । जसका कारण बजेट सिमित भएको छ । यसबाहेक स्थानीय सरकारमा ऋणको ठूलो बोझ छ । यसैलाई ध्यानमा राख्दै, २०२३ को अन्त्यमा, जिनपिङ सरकारले अधिकारीहरूलाई ‘बेल्ट कस्ने बानी बस्न’ अर्थात् आफ्नो खर्च सीमित गर्न भनेको थियो। सी जिनपिङले हालसालै भ्रष्टाचार र अनावश्यक खर्च रोक्न निरन्तर कदम चालेका छन्।
बेइजिङले पनि गत वर्ष स्थानीय प्राधिकरण ऋणले निम्त्याउने जोखिम कम गर्न ठूलो प्रयास सुरु गरेको थियो। यसको उद्देश्य डिफल्टको जोखिम कम गर्नु र स्थानीय सरकारहरूलाई आर्थिक वृद्धिलाई समर्थन गर्न ठाउँ दिनु हो। अनावश्यक खर्च घटाएर बचत गरेर आर्थिक चुनौतिको सामना गरी विकासलाई अघि बढाउन सकिने चिनियाँ सरकारको विश्वास छ ।
चीन हालैका दशकहरूमा सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र भएको छ, तर पछिल्ला केही वर्षहरूमा चीनको आर्थिक अवस्था खस्कँदै गएको छ। चीनमा यस्ता धेरै कदम चालिएका छन्, जसले अर्थतन्त्रप्रति सरकारको चासो बढेको देखाउँछ। देशको बजेटको भार पनि बढ्दै गएको छ । त्यसको असर अहिले अधिकारीको खर्च पनि घट्न थालेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                