काठमाण्डौ । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा पर्ने ४ हजार मिटर उचाइको अपि हिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिने भएको छ। अपि हिमाल गाउँपालिकाको आयोजनामा स्थानीय पर्यटन प्रवर्द्धन तथा क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले सो शिविर आयोजना गर्न लागिएको हो।
शिविर यही जेठ १६ गते अपि हिमाल बेसक्याम्पमा आयोजना हुनेछ भने त्यस अगाडि जेठ १२ र १३ गते गाउँपालिका परिसरमै विविध जागरण कार्यक्रमहरूमार्फत योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्व दर्शाउने कार्यक्रमहरू सञ्चालन गरिनेछ। गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार शिविरमा पालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, पर्यटक र अन्य इच्छुक व्यक्तिहरूको सहभागिता रहनेछ। शिविरमा प्रशिक्षकका रूपमा योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने रहनेछन्।
यस अवसरमा ‘स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि’ विषयमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ । जसलाई नेपाल सरकार सह-सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले सञ्चालन गर्नेछन्। दार्चुला सुदूरपश्चिम प्रदेशको एक विकट तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले समृद्ध जिल्ला हो। अपि हिमाल गाउँपालिका नेपालको एक प्रमुख हिमाली क्षेत्र हो, जहाँ ७,१३२ मिटर उचाइमा रहेको प्रसिद्ध अपिहिमाल शिखर अवस्थित छ।
यो शिखर स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि ट्रेकिङ तथा पर्वतारोहण गन्तव्यका रूपमा उदाउँदै गरेको क्षेत्र हो। पालिकाका अध्यक्ष बोहराले अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना बनाइएको जानकारी दिए। उनका अनुसार, आफ्नो कार्यकालमा पर्यटकका लागि आवश्यक पर्ने आवाससहितका होटल तथा होमस्टेहरूको विस्तार गरिएको छ।
‘हामीले अपिहिमाल आउने पर्यटकका लागि बेसक्याम्पसम्म पुग्दा र फर्कंदा आवश्यक पर्ने सेवा तथा सुविधामा कुनै कमी हुन दिने छैनौँ,’ अध्यक्ष बोहराले बताए। उनका अनुसार अपिहिमाल प्राकृतिक सौन्दर्य, शान्त वातावरण, शुद्ध हावा र हिमाली परिवेशले भरिपूर्ण क्षेत्र भएकाले यहाँ योग, ध्यान तथा मानसिक सन्तुलनका लागि अत्यन्त उपयुक्त वातावरण रहेको छ। यस्ता शिविरहरूले अपिहिमाल क्षेत्रलाई योग, ध्यान तथा पदयात्राको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यमा टेवा पुर्याउने आयोजकको विश्वास छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।