काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो ९ औं वार्षिक साधारण सभा आगामी असार ६ गते आयोजना गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठक चितवनको भरतपुर महानगरपालिका–२१ जुगेडीमा रहेको उद्योग परिसरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालकहरुको पारिश्रमिक,बैंठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।