काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ भोलि(फागनु २५ गते) शुक्रबारका दिन बाँडफाँड हुने भएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड गर्न लागेको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम भोलि बिहान १० बजे क्यापिटलको प्रधान कार्यालयमा हुनेछ । मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिने क्यापिटलले जनाएको छ ।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
यो आईपीओको मूल्य ३६०।९० रुपैयाँ निर्धारण गरिएको थियो ।
कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । जुन मागभन्दा १९.३२ गुणा बढी हो ।
कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने भएको छ । आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ ।