काठमाण्डौ । देशमै पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरी सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा प्रतिकित्तामा बिक्री गरेको सर्वोत्तम सिमेन्ट लिमीटेडका अध्यक्ष विष्णु न्यौपानेले थर्ड क्लास कम्पनीले मात्र बोनस सेयरमा जोड गर्ने गरेका दाबी गरेका छन् ।
सर्वसाधारणका लागि निश्कासन गरिएको प्रिमियम मूल्यको आईपीओ बाँडफाँडका क्रममा आफ्नो कम्पनीले बोनस सेयर र हकप्रद नदिने अभिव्यक्ति दिएपछि विवादमा तानिएका न्यौपानेले बिजशालासँग कुरा गर्दै बोनस सेयर दिने कम्पनी थर्ड क्लासको हुने र हकप्रद निश्कासन गर्ने कम्पनी त झनै कामै नलाग्ने कम्पनीको रुपमा चिनिइने भारतको दृष्टान्त पेश गरेका हुन् ।
‘भारतमा बोनस सेयर दिने कम्पनीलाई थर्ड क्लासको मानिन्छ । कुनै कम्पनीले हकप्रद दियो भने त त्यसलाई कामै नलाग्ने कम्पनी मानिन्छ ।’ उनले भने–‘हामी पनि भारतको जस्तै बोनस र हकप्रद नदिने पक्षमा हो । हामी लगानीकर्तालाई रिटर्नको रुपमा नगद लाभांश मात्र दिन्छौं ।’
उनले बोनस सेयर र हकप्रद दिंदा कम्पनीको पूँजीसँगै सेयर कित्ता बढ्ने, बढेको पूँजीअनुसार कम्पनीको रिटर्न कम हुँदै जाने र यसले दीर्घकालमा कम्पनीको रेपुटेसन नै ध्वस्त बनाइदिने तर्क समेत पेश गरे ।
‘हामी पूँजी नबढाउने, तर लगानीकर्तालाई निरन्तर नगद लाभांश दिने योजनामा छौं ।’ उनले थपे ।
अहिले नेपालको सेयर बजारमा हकप्रद दिने बाढी आएको भन्दै यसले लगानीकर्तालाई डूबाइदिने दाबी गरे । ‘अहिले कामै नलाग्ने कतिपय हाइड्रो कम्पनीहरुले समेत २०० प्रतिशतसम्म हकप्रद निश्कासन गरिरहेका छन् । यो विकृति हो ।’ उनले भने–‘हकप्रदले कसैलाई ी अल्पकालमा केही फाइदा जस्तो त होला । तर पूँजी मात्र थपिने र कमाई नबढ्ने अवस्थाले अन्ततः यस्ता कम्पनीमा गरिएको लगानी डूब्नसक्छ ।’
बैंकहरुको हिजोको दिनमा २ अर्ब पूँजी हुँदा रिटर्न क्षमता निकै राम्रो रहेको उदाहरण पेश गर्दै उनले आज पूँजी बढेर धेरै ठूलो आकारको हुँदा लाभांश क्षमता पनि ध्वस्त भएको बताए ।
लगानीकर्तालाई सेयर बेच्दा चाहिँ प्रिमियम मूल्य लगाएर बेच्ने, अनि अहिले नगद लाभांश मात्र दिन्छु भन्दा त निकै ठूलो घाटा लाग्ने भयो नि त लगानीकर्तालाई ? अंकित मूल्यमा मात्र नगद लाभांश पाउने भएकोले ३६० रुपैयाँकै रिटर्न त नपाउने अवस्था भयो त ? भन्ने प्रश्नमा उनले भने–‘अरुतिर पनि हुने यस्तै हो । नगद लाभांशको नियम नै यस्तै हो । तर तपाईलाई प्रष्ट भन्दा हाम्रो कम्पनीको आईपीओ किन्नेले वर्षौ होल्ड गरेर कम्पनीले दिने रिटर्न खाउँला भनेर लगानी गरेका छैनन् । ३६०.९० रुपैयाँमा आईपीओ किन्ने र दोश्रो बजारमा सूचीकृत भएपछि डबलसम्म बजार मूल्य बढिहाल्छ भनेर धेरैले किनेका छन् ।’
उनले बजारमा सूचीकृत अन्य सिमेन्ट कम्पनीको दृष्टान्त पेश गर्दै सर्वोत्तमको सेयरमूल्य आरामले ६–७ सय रुपैयाँ प्रतिकित्तासम्म पुग्ने दाबी समेत गर्न भ्याए ।
‘खेलाडी लागे परफरमेन्स चाहिन्न’
अध्यक्ष न्यौपानले नेपालको सेयर बजारमा पछिल्लो समय कम्पनीको वित्तीय अवस्था, उसले दिने रिटर्न भन्दा पनि जति कम कित्ता छ, त्यसमा खेलाडी लागेर मूल्य अस्वभाविक रुपमा माथि पुर्याउने प्रवृति देखिएको बताए ।
बैंकहरुको सेयरमूल्य बढ्न नसक्नु बढी कित्ता भएर हो भन्ने कारण पेश गरेका उनले भने–‘उदाहरणका लागि ग्लोबल आईएमई बैंकको चुक्तापूँजी ३५ अर्ब रहेको छ । ५० प्रतिशतजति पब्लिकको सेयर होला । यसमा कुनै खेलाडी लागेर खेल्न खोजे उसलाई प्रतिकित्ता २०० रुपैयाँको दरलेप नि ३५ अर्ब नै चाहिन्छ । जुन असम्भव छ । त्यसकारण साना कम्पनीमा खेल्न र त्यस्ता सेयर खेलाउन सजिलो हुन्छ ।’
सर्वोत्तम सिमेन्टको पनि सेयर कित्ता निकै कम रहेको र खेलाडीहरुले यसमा खेलेर मूल्य माथि पुर््याइदिनेमा उनी ढुक्क देखिन्थे । ‘खेलाडीहरुले शिवम्को मूल्य पनि १८०० पुर्याएकै हुन् । नेगेटिभ नेटवर्थ भएको चन्द्रागिरी हिल्स जस्तो कम्पनीको मूल्य हेर्नुहोस् त बढाएर कति पुर्याए ?’ उनले भने–‘हाम्रो पनि कित्ता कम छ। कम कित्ता भएका कम्पनी नै हुन् बजारमा चल्ने भनेका ।’
नगद लाभांश मात्र दिने युनिलिभर नेपालको सेयरमूल्य ३९ हजार रुपैयाँ नजिक रहेको उदाहरण पेश गर्दै उनले थपे–‘हामी पनि त्यही लाइनमा हो । नगद लाभांश दिंदा सेयरमूल्य लगातार बढ्छ ।’
उनले नगद लाभांश दिंदा सेयरमूल्य बढ्ने, बरु बोनस सेयर दिंदा चाहिँ मूल्य समायोजन भई कारोबार मूल्य घट्ने भएकोले दीर्घकालीन लगानीकर्ताका लागि नगद नै ठीक रहेको तर्क पटक–पटक पेश गरे ।
उनले सेयर खेलाडीको साथ रहुञ्जेल केही नै लाभांश नदिए पनि कम्पनीको मूल्य बढ्ने दाबी गरे ।
अर्को एक प्रसङ्गमा उनले अन्य सिमेन्ट कम्पनी ऋणमा चुर्लुम्म डूबेका, तर आईपीओपछि सर्वोत्तम सिमेन्ट ऋणमुक्त भएको दाबी समेत गरे । ‘अब हामी हाम्रो बुक भ्यालूलाई बलियो बनाउँदै लैजान्छौं ।’ उनले भने–‘थोरै कित्ता भएर पनि बजारको ब्लुचिप बन्ने बाटोतर्फ हाम्रो कम्पनीको सेयर अग्रसर हुन्छ भन्ने विश्वास लिएको छु । भारतको अल्ट्राटेक कम्पनीको १० रुपैयाँ फेसभ्यालु भएको सेयरको मूल्य अहिले बढेर १० हजार रुपैयाँ नजिक पुगेको छ । हाम्रो बजारमा पनि त्यो दिन आउनसक्छ ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                