काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व व्यापारका माध्यमबाट रोकेको दाबी गरेका छन् । नेटोका महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले यस्तो बताएका हुन् ।
उनले भने, ‘भारत र पाकिस्तान जसरी अगाडि बढिरहेका छन्, त्यसले अर्को साताभित्रै उनीहरुबीच आणविक युद्ध सुरु हुने थियो ।’
ट्रम्पले भारत र पाकिस्तानलाई यो समस्या समाधान नगरेसम्म अमेरिकाले दुवै देशसँग व्यापारको बारेमा कुरा नगर्ने बताएको र यस कारण दुई देशबीचको युद्ध समाप्त भएको दाबी गरे । डोनाल्ड ट्रम्पले धेरै पटक आफ्नो कारणले दुई देशबीचको सैन्य द्वन्द्व रोकिएको दाबी गरेका छन् । भारतले भने बारम्बार उनको दाबी अस्वीकार गर्दै आएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १० मा पहिलो पटक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा भारत र पाकिस्तान अमेरिकी मध्यस्थता वार्तापछि युद्धविराममा सहमत भएको घोषणा गरेका थिए। यसपछि भारतीय विदेश मन्त्रालयले भारत–पाकिस्तानबीच सैन्य द्वन्द्व रोक्न भएको सम्झौतालाई स्वीकार गरे पनि अमेरिकाको नाम भने लिएको छैन ।
भारतले अमेरिकाको मध्यस्थताको दाबी अस्वीकार गरेको थियो ।