काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामाथिको ट्यारिफ २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडामाथिको ट्यारिफ बढाएका हुन् ।
साथै, राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकिएको समयसीमा भन्दा केही घण्टा अघि दर्जनौं देशहरूको लागि नयाँ ट्यारिफ दरहरू जारी गरेका छन्। यी दरहरू सात दिनपछि लागू हुनेछन्।
यसअघि बिहीबार राष्ट्रपति ट्रम्पले मेक्सिकोमा कर लगाउने समयसीमा ९० दिन थप गरेका थिए । बुधबार ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । साथै उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतविरुद्ध थप आयात शुल्क लगाउने समेत बताएका छन् ।
अप्रिल २ मा ट्रम्पले विश्वका १०० देशमा कर लगाउने घोषणा गरेका थिए । उनले कुनै पनि देशले अमेरिकी सामानमा उच्च आयात शुल्क लगाएको खण्डमा अमेरिकाले त्यस देशबाट आउने सामानमा पनि उच्च कर लगाउने बताएका छन् । ट्रम्पले यसलाई रेसिप्रोकल ट्यारिफको नाम दिइएको छ ।