काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले यही साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने रु.१०० अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुृमति पाएको थियो । जसअन्तर्गत कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
यो सेयर सम्पूर्ण रुपमा बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्कासन गरिने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेकालाई सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                