काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २५ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको छ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
जेठ १५ गतेसम्म कायम सेयरधनीहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।