काठमाण्डौ । अमेरिकाले ट्यारिफमार्फत दैनिक करोडौं डलरबराबरको राजश्व संकलन गरिरहेको छ । जुलाई महिनामा अमेरिकाले ३० बिलियन डलरबराबरको ट्यारिफ शुल्क संकलन गरेको छ ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार यो रकम गत वर्षको सोही अवधिको तुलनामा २४२ प्रतिशतले बढी हो ।
गत अप्रिल महिनादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आउने लगभग सबैजसो सामानमा १० प्रतिशत ट्यारिफ लगाउने सुरु गरेएता अमेरिकी सरकारले १०० बिलियन डलर ट्यारिफ शुल्क संकलन गरेको छ । जुन गत वर्षको ४ महिना अवधिको तुलनामा तीन गुणा बढी हो ।
ट्यारिफमार्फत संकलन भईरहेको यति ठूलो रकमले अमेरिकी सरकारले आखिर के गरिरहेको छ त ?
ट्रम्पले ट्यारिफलबाट संकलित रकम विेशष गरेर दुई तरिकाले खर्च गर्ने योजना बनाएका छन् । पहिलो भनेको सरकारी ऋण तिर्ने र अर्को अमेरिकी जनतालाई ‘ट्यारिफ रिबेट चेक’ प्रदान गर्ने ।
‘ट्यारिफको मुख्य उद्देश्य भनेको सरकारी ऋण तिर्नु हो र यो ठूलो परिणाममा हुनेछ,’ ट्रम्पले भने, ‘तर ट्यारिफमार्फत धेरै रकम आउने सम्भावना भएकाले त्यो रकम जनतामा लाभांशको रुपमा बाड्न सकिन्छ ।’
तर अहिलेसम्म यी दुवै कार्य भने भएको छैन ।
ट्यारिफबाट आएको आम्दानीले के हुन्छ ?
अमेरिकी सरकारले साधारण कर वा ट्यारिफमार्फत संकलन गर्ने कुनै पनि राजश्व ट्रेजरी डिपार्टमेन्टले व्यवस्थापन गर्ने जनरल फण्डमा जाने गर्छ । यो कोष सरकारी खर्च तिर्नका लागि प्रयोग हुने भएकाले यो फण्डलाई अमेरिकाको चेकबुक पनि भनिन्छ ।
अमेरिकी सरकारले हाल ३६ ट्रिलियन डलरबराबरको कर्जा चुक्ता गर्न बाकी छ । सरकारी ऋणको आकार विस्तारै बढिरहेको छ र यसलाई अर्थशात्रस्त्रीहरुले डरलाग्दो बताएका छन् ।
सरकारी ऋण बढेसँगै ब्याज रकम पनि वृद्धि भईरहेको छ । जसले सरकारी दायित्व तथा खर्च दुवै बढाईरहेको छ । यसले पूर्वाधार विकास र सामाजिक सुरक्षामा खर्चे सरकारको क्षमता घटिरहेको विज्ञहरुले बताएका छन् ।
ट्यारिफ शुल्क संकलनबाट प्राप्त रकमले हालको १.३ ट्रिलियन डलरबराबरको बजेट घाटालाई परिपूर्ति गर्न नसकेपछि यसलाई घटाउन भने सक्षम हुने देखिएको छ ।