काठमाण्डौ । भारतमा अमेरिकी ट्यारिफको विरोधमा अमेरिकी व्यवसाय तथा वस्तुहरुलाई बहिष्कारको लहर चल्न थालेको छ । म्याकडोनल्ड,कोकाकोला, अमेजन र एप्पल जस्ता अमेरिकामा आधारित बहुराष्ट्रिय कम्पनीहरु भारतीय प्रधानमन्त्री नरेन्द मोदी समर्थकहरुको बहिष्कारमा पर्न थालेका हुन् ।
विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको भारत अमेरिकी ब्राण्डहरुका लागि मुख्य बजार हो । भारतमा मेटाको ह्वाट्सएप र डोमिनोको रेष्टुरेन्टहरु अन्य देशको भन्दा धेरै छ । यस्तै कोकाकोला र पेप्सी जस्ता पेय पदार्थ ब्राण्डहरु समेत भारतमा चर्चित छन् ।
एप्पलको स्टोर बाहिर लाइन लागेर आईफोन खरिद गर्ने भारतीयको ठूलै जमात छ । बहिष्कारका कारण अहिले तत्कालै बिक्रीमा प्रभाव नरेपनि सामाजिक सञ्जाल र सामाजिक सञ्जालभन्दा बाहिर स्वदेशी वस्तु प्रवद्र्धन गर्न अमेरिकी वस्तुहरुलाई त्याग्ने विषयमा चर्चा हुन थालेको रोयटर्सले जनाएको छ ।
अमेरिकाले भारतीय वस्तुहरुमाथि ५० प्रतिशत ट्यारिफ लगाएसँगै भारतमा अमेरिकी सामाग्री तथा वस्तुहरु बहिष्कार अभियान सुरु भएको हो ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय कम्पनीहरुले बाँकी विश्वका लागि सामाग्रीहरु बनाइरहेपनि अब भने स्थानिय आवश्कतालाई प्राथमिकता दिने समय आएको बताएका थिए ।
अमेरिका विरोधी अभियान सुरु भएपनि अमेरिकी अटो निर्माता कम्पनी टेस्लाले भारतको नयाँ दिल्लीमा आफ्नो दोस्रो शोरुम उद्घाटन गरेको छ ।
मोदीको भारतीय जनता पार्टीसँग जोडिएको स्वदेशी जागरण मञ्चले अमेरिकी वस्तुहरुलाई बहिष्कार गर्न आह्वान गर्दै आइतबार एक र्याली निकालेको थियो । मञ्चका संयोजक आश्विनी महाजनले मानिसहरु स्वदेशी वस्तुहरु खोज्न लागेको र यसका लागि केही समय लागेपनि यसले राष्ट्रियता र देशभक्ति झल्काउने बताए ।
यस्तै उनले अमेरिकी वस्तुहरुको साटो प्रयोग गर्न सकिने सम्भावित भारतीय वस्तुहरुको सूची ह्वाट्एप ग्रुपहरुमा फैलाईरहेको बताए ।
यस्तै अन्य ग्रुपहरुले पनि केही अमेरिकी ब्राण्डहरुको नामै किटान गरेर विदेशी सामाग्रीहरु बहिष्कार भन्दै अभियान चलाएका छन् ।