काठमाण्डौ । स्टेट बैंक अफ इन्डिया पछि, बैंक अफ इन्डियाले पनि अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्स (आरकम) को ऋण खातालाई ठगी घोषित गरेको छ। बैंक अफ इन्डियाले आफ्नो फाइलिङमा आफूबाट लिएको रकम दुरुपयोग भएको जनाएको छ । यसमा पूर्व कम्पनी निर्देशक अनिल अम्बानीको नाम पनि सामेल छ।
यो कर्जासम्बन्धी विषय सन् २०१६ को हो। बैंकले अनिल अम्बानी र उनका केही पूर्व निर्देशकहरूले रकम अपचलन गरेको बताएको छ। त्यसैले बैंक अफ इन्डियाले पनि यो ठगी मुद्दामा अनिल अम्बानीको नाम लिएको छ । बैंक अफ इन्डियाले आरकमलाई ७ सय करोड भारु ऋण दिएको थियो ।
केही दिनअघि स्टेट बैंक अफ इन्डियाले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स र अनिल अम्बानीलाई ‘ठगी’ घोषित गरेको थियो। एसबीआईका अनुसार आरकमले विभिन्न बैंकबाट लिएको ३१,५८० करोड भारु ऋणको दुरुपयोग गरेको छ।
सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध २,९२९ भारुको बैंक ठगीको मुद्दा दर्ता गरेको छ। सीबीआईले २३ अगस्टमा रिलायन्स कम्युनिकेशन लिमिटेडको कार्यालय र मुम्बईमा अनिल अम्बानीको घरमा पनि छापा मारेको थियो। यो ठगी स्टेट बैंक अफ इन्डियासँग सम्बन्धित छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                