काठमाण्डौ । के वैज्ञानिकहरू अहिले त्यो कोसेढुङ्गामा पुगेका छन् जहाँ मानिसले १५० वर्षसम्म सामान्य जीवन बिताउन सक्नेछन् ? रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सी चिनफिङबीच भएको गोप्य कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि यो छलफल चर्किएको छ ।
बुधबार, जब भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग काँधमा काँध मिलाएर हिँडिरहेका थिए, लाइभ टेलिकास्ट माइकले उनीहरूको कुराकानी कैद गर्यो । जसमा दुवै नेताबीच मानव अंग प्रत्यारोपण र १५० वर्षसम्म मानिस बाँच्ने सम्भावनाबारे छलफल भएको थियो ।
बुधवार पुटिन, सी जिनपिङ र उत्तर कोरियाली तानाशाह किम जोङ उन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको सम्झनामा बेइजिङमा आयोजित सैन्य परेडमा हिँडिरहेका बेला उक्त कुराकानी रेकर्ड गरिएको थियो।
चीनको राज्य प्रसारक सीसीटीभीले समाचार एजेन्सी एसोसिएटेड प्रेस र रोयटर्सको साथसाथै विश्वव्यापी मिडिया आउटलेटहरूमा घटनाको प्रत्यक्ष प्रसारण गरेको थियो। सीसीटीभीले यो कभरेजलाई टिभीमा ४० करोडभन्दा भन्दा बढी पटक हेरिएको बताएको छ । जबकि अनलाइनमा १.९ अर्ब पटक हेरिएको थियो ।
पुटिन र सी जिनपिङ तियानमिन स्क्वायरको मञ्चमा पुग्दा पुटिनका दोभाषेले चिनियाँ भाषामा भनेका छन्, ‘बायोटेक्नोलोजी निरन्तर विकास भइरहेको छ। मानव अंगहरू लगातार प्रत्यारोपण गर्न सकिन्छ। तपाईं जति लामो समय बाँच्नुहुन्छ, त्यति नै जवान रहनुहुनेछ र अमरता पनि प्राप्त गर्न सक्नुहुन्छ।’ यसको जवाफमा सी जिनपिङले भने, ‘केही मानिसहरु यस शताब्दीमा मानिस १५० वर्षसम्म बाँच्न सक्ने अनुमान गर्छन्।’
यस कुराकानीका क्रममा किम जोङ उन मुस्कुराउँदै पुटिन र सीलाई हेर्दै थिए । सीसीटीभीबाट प्रशारण भएको भिडियोमा पुटिनले रुसी भाषामा स्पष्ट रूपमा बोलेको सुन्न सकिँदैन । तर, पुटिनले पछि आफू र चिनियाँ राष्ट्रपतिबीच बुधबार यस विषयमा छलफल भएको पुष्टि गरे।
बेइजिङमा पत्रकारहरूले लीक भएको कुराकानीबारे सोध्दा पुटिनले भने, ‘मलाई लाग्छ कि हामी परेड हेर्न गएका बेला अध्यक्षले यस विषयमा कुरा गर्नुभएको हो। स्वास्थ्य सुधारका आधुनिक साधनहरू, चिकित्सा उपकरणहरू, अंगहरू प्रतिस्थापन गर्ने शल्यक्रियाहरू पनि, मानवतालाई आशा दिन्छ कि सक्रिय जीवन आजको भन्दा फरक तरिकामा जारी रहनेछ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                