काठमाण्डौ । चीनको तियानजिनमा सांघाई सहयोग संगठन (एससीओ) बैठकमा भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटप्रति ट्रम्पले ‘खेद’ व्यक्त गरेका थिए।
तर रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यसलाई ‘साझा हित र आपसी साझेदारीतर्फ स्पष्ट दृष्टिकोण’ भनेका छन्। ‘यसले तीन ठूला सभ्यताको प्रतिनिधित्व गर्ने तीन ठूला शक्तिहरूले धेरै क्षेत्रमा आफ्नो साझा चासो बुझेको देखाउँछ’ लाभरोभले आइतबार रुसी सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा भने।
अनुमानलाई पन्छाउँदै, लाभरोभले स्पष्ट पारे, ‘यसको मतलब सबै कुरा शतप्रतिशत उस्तै छ भन्ने होइन, तर चीन, रुस र भारतबीच साझेदारी बढाउने प्रवृत्ति छ, हामी समान चासो भएका क्षेत्रहरूमा पारस्परिक लाभ प्राप्त गर्न चाहन्छौं।’
सामाजिक सञ्जालमा एउटा भिडियो पनि भाइरल भएको थियो, जसमा एससीओ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनले हात समातेर चिनियाँ राष्ट्रपति सीतर्फ अघि बढ्छन् र त्यसपछि तीनैजना सर्कल बनाएर न्यानो भेटघाट गर्छन्। यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
यी तीनको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका छन्, ‘यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनमा गुमाइसकेका छौं। मलाई आशा छ कि उनीहरूको साझेदारी लामो र समृद्ध होस्।’
तर, त्यसको केही घण्टापछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘असल मित्र’ भनेका थिए । प्रधानमन्त्री मोदीले पनि ट्रम्पको भावनाको कदर गर्दै पूर्ण समर्थन जनाएका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                