काठमाण्डौ । बेलायतको राजधानी लन्डनमा एक लाखभन्दा बढी मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरु आप्रवासी नीतिको विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । युनाइट द किंगडम नामक उक्त प्रदर्शनलाई आप्रवासी र इस्लाम विरोधी अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेका थिए। लण्डन प्रहरीले आप्रवासी विरोधी प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि आक्रमण भएको जनाएको छ ।
जसमा धेरै प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार आप्रवासी विरोधी मार्चमा करिब १ लाख १० हजार मानिस सहभागी थिए। झडपमा २६ अधिकारी घाइते भएको र २५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहायक आयुक्त म्याट ट्विस्टले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेका छन् ।
‘घटनापछि हाम्रो अनुसन्धान सुरु भएको छ । हामी यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्दैछौं र आगामी दिनमा उनीहरूलाई कडा कारबाहीको अपेक्षा गर्न सक्छौं,’ उनले भने ।
लन्डनका मेयर सादिक खानले पनि हिंसा र प्रहरी अधिकारीमाथि आक्रमण पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन्।
युनाइटेड द किंगडम र इङ्गल्याण्डको झण्डा फहराउँदै प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालय र सरकारी विभागहरू रहेको ह्वाइटहलतर्फ मार्च गरेका थिए। केही प्रदर्शनकारीले अमेरिकी र इजरायली झण्डा पनि फहराएका थिए ।
विरोध प्रदर्शनका क्रममा केही ठाउँमा हिंसा पनि भएको थियो । अनलाइन पोस्ट गरिएको एक भिडियोमा एक प्रदर्शनकारीले अमेरिकी राजनीतिक कार्यकर्ता चार्ली किर्कको तस्बिर बोकेको देख्न सकिन्छ जसको बुधबार गोली हानी हत्या गरिएको थियो । भीडले कर्कको नाम उच्चारण गरेको सुन्न सकिन्छ।
टमी रोबिन्सनले युनाइट द किंगडम मार्चलाई अभिव्यक्ति स्वतन्त्रताको उत्सवको रूपमा वर्णन गरेका छन्। लाखौं मानिसहरू आफ्नो स्वतन्त्रताको लागि जुलुस गर्न मध्य लन्डनको सडकमा उत्रिएका छन्, रोबिन्सनले ट्विटरमा भने।
रोबिन्सनको वास्तविक नाम स्टीफन याक्सले लेन हो। उनले आफूलाई सरकारी भ्रष्टाचारको पर्दाफास गर्ने पत्रकारको रूपमा वर्णन गरेका छन् र अमेरिकी अरबपति एलन मस्कलाई आफ्ना समर्थकमा गन्छन्।
रोबिन्सन अहिले बन्द भएको अध्यागमन विरोधी संगठन इङ्लिस डिफेन्स लिगका संस्थापक थिए र यस वर्षको सुरुमा जेलबाट रिहा भएका थिए। सिरियाली शरणार्थीको बारेमा झूटा आरोप दोहोर्याएर अदालतको अवहेलना गरेको आरोपमा उनी जेल परेका थिए।