काठमाण्डौ । नेप्सेमा कारोबारको अन्तिम १५ मिनेटको औसत निकालेर सूचक गणना गर्ने नियम हटाउने विषयमा बजारका दुवै नियामक तयार देखिएका छन् ।
देशको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड र फ्रन्ट लाइन नियामक नेपाल स्टक एक्सचेञ्ज नै अन्तिम १५ मिनेटको औसत गर्ने नियम हटाउन तयार भएका हुन् ।
लगानीकर्ताहरुले विगत लामो समयदेखि यो नियमको विरोध गर्दै आइरहेका छन् । जेनजी आन्दोलनपछि प्यानिक बनेको सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने यस्ता नियम हट्नुपर्ने माग पछिल्लो समयमा चर्को ढङ्गले उठेपछि सेबोन र नेप्से नै त्यसलाई हटाउन तयार देखिएका हुन् ।
नेप्सेस्थित उच्च स्रोतका अनुसार १५ मिनेट औसत नियम हटाउन नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले धितोपत्र बोर्डलाई आजै पत्र पठाउँदैछ । सो पत्र र लगानीकर्ताको सम्पत्ति सकेसम्म कम क्षति हुने हिसाबले अन्य उपाय खोज्ने लगायतका विषयमा छलफल गरी निर्णय गर्न धितोपत्र बोर्डले पनि सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ ।
बोर्डस्थित उच्च स्रोतका अनुसार नेप्सेले १५ मिनेटवाला नियमको विषयमा पत्र पठाएपछि सोहीअनुसार निर्णय गराई लगानीकर्ताहरुको माग सम्बोधन गर्ने विषयमा धितोपत्र बोर्ड समेत तयार छ ।
यसअघि प्रकाशित समाचार:
लगानीकर्ता डूब्ने अवस्था बनेपछि इमेरजेन्सी बोर्ड बोलाउने सेबोनको तयारी