काठमाण्डौ । सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लगानीकर्ताको माग सम्बोधन गर्नबाट पछाडि हटेको छ ।
लगानीकर्ताहरुले सेयर कारोबारको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधिले आफूहरुको मनोबल घटाएको भन्दै त्यसलाई हटाउन विभिन्न खालका दवाब दिइरहेका र यो व्यवस्था हटाउन सर्वत्र माग भइरहेको अवस्थामा नेप्सेले भने अन्तिम अवस्थामा खेल बिगार्ने प्रयास गरेको हो ।
अन्तिम १५ मिनेटको व्यवस्था हटाउन प्रमुख नियामक धितोपत्र बोर्ड केही दिनअघिदेखि नै तयार देखिन्थ्यो । उसले लगानीकर्ताबाट यो व्यवस्थाको बारेमा गुनासाहरु आएपछि केही साताअघि नै एउटा कमिटी बनाएर यो व्यवस्थाले पारेको प्रभावहरुको विषयमा अध्ययन थालेको थियो । यही क्रममा बिहीबार जेनजी आन्दोलनपछि बन्द गरिएको बजार खुलाइयो । आन्दोलनपछि खुलेको बजार एकपछि अर्को गर्दै लगातार तीनवटा नेगेटिभ सर्किट लागी केही समयपछि बन्द हुन पुगेको थियो ।
देशको विषम आर्थिक तथा राजनीतिक परिस्थितिका कारण अत्तालिएका लगानीकर्ताहरुले यस्तो बेलामा अन्तिम १५ मिनेटवाला नियम खारेजीको माग गरेका थिए । उनीहरुले योसहित अन्य मागहरु पूरा गर्नुपर्ने भन्दै बिहीबार अपरान्ह धितोपत्र बोर्डमा गएर प्रदर्शन गर्दै धर्ना समेत दिएका थिए । लगानीकर्ताहरु आन्दोलनमै उत्रिएपछि र १५ मिनेटको नियम नहटाई आइतबार बजार खोल्न नहुने माग अगाडि तेस्र्याएपछि उनीहरुको हितलाई ध्यानमा राखेर धितोपत्र बोर्डले यो नियमलाई तत्कालका लागि स्थगन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको थियो ।
बोर्डबाट प्राप्त निर्देशन र लगानीकर्ताको मागका आधारमा टेकेर नेप्सेले बिहीबार सञ्चालक समितिको बैठक बोलाएको थियो । सो बैठकमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले लगानीकर्ताहरुको दवाबकै आधारमा अन्तिम १५ मिनेटको नियम हटाउन नहुने राय दिएका थिए । उनले 'यो नियम कार्यान्वयनमा आएको ५ महिना मात्र भएकोले यसलाई तुरुन्त हटाउन नहुने र यसले नीतिगत अस्थिरताको सन्देश जाने' भन्दै सोहीअनुसार अगाडि बढ्नुपर्ने विचार राखेका थिए ।
नेप्सेको सीईओबाटै अन्तिम १५ मिनेट सम्बन्धी व्यवस्था हटाउने विषयमा अनिच्छा प्रकट भएपछि नेप्से बोर्डले यसको सबै जिम्मा र दोष धितोपत्र बोर्डकै टाउकोमा थोपर्ने बाटोतर्फ अग्रसर देखिएको छ । 'हामीले यसमा केही नबोली धितोपत्र बोर्डलाई नै सबै जिम्मा दिने हिसाबले पत्र लेखौं भन्ने सल्लाह बोर्डमा भएको थियो ।' नेप्सेस्थित स्रोतले भन्यो -'त्यही सल्लाहअनुसार नेप्सेले यसमा कुनै निर्णय नगरी बाँकी सबै निर्णयको अधिकार धितोपत्र बोर्डलाई छाड्ने गरी पत्र गएको छ ।'
त्यो स्रोतका अनुसार धितोपत्र बोर्डमा नेप्सेले लेखेको पत्रमा भनिएको छः'धितोपत्र कारोबार सञ्चालन विनियमावली(चौथो संसोधन) २०८१ को विनियम ११(७)मा उपविनियम (१)को खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्था रहेको छ । तत् सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट उपयुक्त निर्देशनका लागि लेखी पठाउने ।'
यसरी नेप्सेले बोर्डलाई पठाएको पत्रमा 'अन्तिम १५ मिनेटमा कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था रहेको' मात्र भनेको छ । उसले यो व्यवस्था संसोधन गर्न, हटाउन वा के गर्ने हो भन्ने विषयमा कुनै निर्णय नगरी पत्र पठाएको देखिएको छ । यो पत्रबाट समेत नेप्से लगानीकर्ताको माग सम्बोधन गर्न तयार छैन भन्ने प्रष्ट देखिने स्रोत बताउँछ ।
नेप्सेले जे व्यवस्था हो, त्यो मात्र उल्लेख गरी आफ्नो कुनै राय वा निर्णय नदिई बोर्डलाई पत्र पठाउनुले ऊ यो व्यवस्था हटाउन इच्छुक नरहेको र यो व्यवस्था हटाएको दोष जति सेबोनको टाउकोमा थोपर्ने मनाशय प्रष्टै देखिने स्रोतको दाबी छ ।
के गर्छ सेबोनले ?
धितोपत्र बोर्डले नेप्सेबाट पत्र प्राप्त भएको पुष्टि गर्दै सो विषयमा शनिवार बोलाइएको सञ्चालक समितिको बैठकले आवश्यक निर्णय गर्ने बताएको छ ।
बोर्डका एक अधिकारीले नेप्सेले अन्तिम १५ मिनेट सम्बन्धी नियमका विषयमा आफ्नो राय वा निर्णय नै नगरी पठाएकोले सेबोनले के आधारमा निर्णय गर्ने भन्ने समस्या उत्पन्न हुनसक्छ । नेप्सेले निर्णय नै नगरी पठाएको पत्रका आधारमा अन्तिम १५ मिनेटको व्यवस्था खारेजीको निर्णय सेबोनको बोर्डबाट हुन नसक्ने सम्भावना बढेको समेत ती अधिकारीको दाबी छ ।
यदि त्यो दाबी सही भएमा नेप्सेकै कारण लगानीकर्ताको माग सम्बोधन नहुने अवस्था आएको छ । लगानीकर्ताको माग सम्बोधनमा नेप्से नेतृत्व कतिसम्म उदासीन छ भन्ने कुरा समेत यो प्रकरणबाट थप पुष्टि हुने देखिएको छ ।
यसअघि पनि नेप्से विपक्षमै
नेप्से नेतृत्व अहिले मात्र होइन, यसअघि लगानीकर्ताबाट अन्तिम १५ मिनेट सम्बन्धी व्यवस्था हटाउनका लागि दवाब आउँदा समेत विपक्षमै थियो । उसले भदौ १३ गते एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अन्तिम १५ मिनेटको नियम परिवर्तन नहुने अडान लिएको थियो ।
त्यसबेलाको विज्ञप्तिमा नेप्सेले भनेको थियो -‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबार(टिक बाई टिक)को कारोबार मूल्यलाई सूचीकृत सेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ । अपरान्ह ३ बजेपछि भने नेप्सेको स्वचालित प्रणालीले प्रत्येक कारोबार मूल्य र कारोबार भएको सेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा नेप्से सूचकांक गणना गर्छ । स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ः४५ देखि ३ बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य गणना गर्छ । स्वचालित कारोबार प्रणालीले दोश्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने गर्छ। तसर्थ नियमित सत्रको कारोबारमा सूचकांक गणना गर्दा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुँदैन । अपरान्ह ३ बजेपछिको गणनामा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुन्छ । यो विश्वव्यापी असल अभ्यासलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको कारोबार सञ्चालन विनियमावली(चौथो संसोधन), २०८१ अनुरुप नेप्से सञ्चालक समितिको निर्णयअनुसार मिति २०८१/१२/०७ देखि कार्यान्वयनमा ल्याइएको हो ।’

सम्बन्धित समाचार :
अन्तिम १५ मिनेट औसतको नियम परिवर्तन नहुने नेप्सेको प्रष्ट संकेत, 'यो विश्वव्यापी असल अभ्यास हो'