काठमाण्डौ । यो साता सेयरबजारमा ५ दिननै सेयर कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ५८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ४८७.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ९५.०१ अंकले बजार घट्यो ।
अघिल्लो साता पनि नेप्से परिसूचकमा ८१.५३ अंकको गिरावट आएको थियो । यो साता बजारमा २१ अर्ब ४२ करोडको सेयर कारोबार भयो । अघिल्लो साता भने ३ कारोबार दिनमा १५ अर्बको सेयर कारोबार भएको थियो । यो साता बजार घट्दा बजार पूँजीकरणमा पनि गिरावट आयो । अघिल्लो साता ४३ खर्ब १६ अर्ब रहेको बजार पूँजीकरण यो साता घटेर ४१ खर्ब ५७ अर्बमा सीमित बन्यो । यस हिसाबले यो साता बजार पूँजीकरण १ खर्ब ५९ अर्बले घट्यो ।
प्राविधिक पक्षः
स्मार्ट मनी कन्सेप्टको आधारमा
स्मार्ट मनी कन्सेप्ट भनेको पूँजी बजारमा रिटेल इन्भेष्टरहरुको तुलनामा ठूला संस्था तथा वित्त कम्पनी जस्तै बैंक , हेज फण्ड तथा मार्केट मेकरहरुले प्रयोग गर्ने औजार हो । ठूला संस्थाहरुले बजारमा पैसा लगाउने रणनीतिको रुपमा पनि यसलाई बुझिन्छ ।
यस आधारमा उनीहरले बजारले बनाएको स्टक्चरको अधारमा बजारबाट निस्कने तथा पस्ने रणनीति बनाएका हुन्छन् । जस्तै यदि बजारमा बुलिस चेञ्ज अफ क्यारेक्टर बनेको खण्डमा बजार पस्ने र वियरिस चेञ्ज अफ क्यारेक्टर बनेमा वा निरन्तरता पाएमा बजारबाट निस्कने गर्छन् । जसले बजारमा थप क्षति हुनबाट लगानीकर्ताहरुलाई जोगाउने गर्छ ।
यस आधारमा अबको बजारको सम्भावना कस्तो ?
स्मार्ट मनी कन्सेप्टको आधारमा बजारलाई नियाल्दा पछिल्लोपटक ३ हजार विन्दुबाट खसेको बजारले वियरिस क्यारेक्टरलाई निरन्तरता दिएको छ । जसलाई आवरली बेसमा नियाल्दा पनि बजारले वियरिस क्यारेक्टरलाई निरन्तरता दिएको छ । प्राविधिक रुपमा यसरी निरन्तर खसेको बजारले अब कतिसम्म यही क्यारेक्टरमा चल्न सक्छ भनेर बुझ्ने अर्को औजर भनेको सपोर्ट एण्ड रेसिस्ट्यान्स नै हो ।
घट्दो बजारमा त्यस्ता सपोर्टका विन्दुहरु यसअघिका सपोर्ट प्वइन्टलाई खोजिन्छ भने बढ्दो बजारमा यसअघिका प्रतिरोधका विन्दुलाई हेरिन्छ । यस आधारमा यो साता २ हजार ४८७ को विन्दुमा बन्द भएको बजारले अबको नजिकको सपोर्ट भनेको २४८० र त्यसपछि पनि बजारले अझै गिरावटलाई निरन्तरता दिन्छ भने बजारको अर्को सपोर्ट भनेको २४४० विन्दु आसपास रहन्छ ।
प्राविधिक रुपमा यसको अर्थ पहिलेको प्रतिरोधमा फेरि पनि प्रतिरोध लिन्छ नै भन्ने र पहिलेको सपोर्टमा बजारले फेरि पनि सपोर्ट लिन्छ नै भन्ने कुनै निश्चितता भने हुँदैन । तर कारोबार पनि निकै ड्राई अप भएको कारण यी विन्दुलाई बलियो सपोर्टको रुपमा भने लिन सकिन्छ । यद्यपी बजारले हालसम्म कुनै पनि बुलिस क्यारेक्टर चेञ्ज गरिहालेको अवस्था भने होइन ।
माथी मूख्य तस्विर
बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा हाल बजार तल्लो विन्दुमा डाउन ट्रेन्डमा चलेको छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन ३३ को तहमा चलको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार डाउन ट्रेन्डमा चलको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २८०२
प्रतिरोध २ – २७३९
प्रतिरोध १– २६६१
पिभट् प्वइन्टः २५९८
घटेमा सपोर्ट
सपोर्ट १– २५९१
सपोर्ट २– २४५६
सपोर्ट ३ –२३७७

निष्कर्षःअघिल्लो साता ८१ अंकले घटेको बजार यो साता ९५ अंकले घट्यो । दशैंपछि खुलेको बजारमा लगातार बिक्री दबाब देखिएको छ । आधारभूत रुपमा सबै विषयवस्तु सकारात्मक रहेता पनि जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले नै सेयर बजार घटेको हो ।
लगानीकर्ताहरुमा तिहारपछिको राजनीतिक अवस्था के कस्तो हुन्छ ? भन्ने विषयमा नै अन्यौलता देखिन्छ । खासगरि, सरकारले फागुन २१ मा घोषणा गरेको चुनावको विषयमा राजनीतिक दलहरुको एक मत नहुँदा राजनीतिक अस्थिरता बढ्दै गएको छ । यस कारण राजनीतिक विषयको प्रष्ट रुपरेखा नहुन्जेल सेयर बजारले अहिले नै ठूलो फड्को मार्छ भन्न भने कठिन छ ।
यद्यपी बजारलाई प्राविधिक रुपमा नियाल्दा भने करिब सपोर्ट जोन नजिक आएको देखिन्छ । बढ्दो तरलता र घट्दो ब्याजदरको कारण अन्यत्र लगानीका अवसर खुम्चिदै जाँदा बजारले कोभिडकालमा जस्तै २४४० को सपोर्टको विन्दुबाट युटर्न लिनसक्ने सम्भावना पनि त्यतिकै रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।