काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन्।आज बसेको सञ्चालक समितीको ११ औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आजदेखि लागु हुनेगरी सीईओ नियुक्त गरेको हो।
यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।
फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । यसअघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षेकार्यकाल सकाएर विदा भएका छन्।
रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ।

