काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सुपरीवेक्षण विभागका जिम्मेवार अधिकारीहरुलाई बोलाएर एनआरएनको सेयरमूल्यमा भएको चलखेल र हालसम्म प्राप्त प्रमाण(डेटा)हरुको विषयमा ब्रिफिङ लिएका थिए ।
सो क्रममा सुपरीवेक्षणका अधिकारीहरुले हालसम्म प्राप्त केही आँकडा तथा तथ्यप्रमाणहरु गम्भीर प्रकृतिका रहेका भनेपछि एनआरएनमा भएको इन्साइडर ट्रेडिङ र सोझा लगानीकर्ता फसाउने योजनाबद्ध खेलमा जोडिएका कसैलाई पनि नछाड्न र अझ गम्भीर रुपमा छानबिनलाई अगाडि बढाउन निर्देशन दिएका थिए ।
सेबोनस्थित उच्च स्रोतकाअनुसार अध्यक्ष श्रेष्ठ सुरुवातदेखि नै बजारमा व्याप्त इन्साइडर ट्रेडिङ, ग्रुप तथा सर्कुलर ट्रेडिङजस्ता गैरकानूनी क्रियाकलापको सख्त विपक्षमा छन् । बजारको माहौल बिगार्ने, निश्चित स्क्रिप्टको मूल्यमा खेलेर सर्वसाधारणलाई फसाउने र बजारप्रतिको विश्वास नै नेगेटिभ हिट हुने गरी गलत काम गर्ने गिरोह जोसुकै भए पनि छाड्न नहुने विगतदेखिको अडान एनआरएनको विषयमा अध्यक्ष श्रेष्ठले अझ प्रष्ट रुपमा राखेका सुपरीवेक्षणका एक कर्मचारीले बताए ।
'अध्यक्ष ज्यूले हिजो प्रष्ट रुपमा एनआरएनमा भएको इन्साइडर ट्रेडिङको विषय निकै गम्भीर प्रकृतिको रहेकोले यसमा संलग्न कसैलाई पनि नछाड्न स्पष्ट निर्देशन दिनुभयो । बजार बिगार्ने गलत तत्वहरुलाई निस्तेज पार्न र सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न सुपरीवेक्षण विभागलाई अझ प्रभावकारी ढंगले छानबिन अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।' ती कर्मचारीले भने- 'अध्यक्ष ज्यूको स्पष्ट निर्देशनपछि एनआरएनको सेयरमूल्यमा भएको योजनाबद्ध खेलको विषयमा सोमबारदेखि अझ गम्भीर ढंगले छानबिन थालिएको छ ।'
यसअघि प्राप्त प्रमाण तथा डेटाहरुलाई थप रिचेक गर्ने, नयाँ प्रमाणहरु संकलन गर्ने, यो प्रकरणमा जोडिएका, उनीहरुसँग निकट सम्बन्ध राख्नेहरुको कारोबारको इतिहासदेखि लिएर चलखेल पुष्टि हुने अन्य विषयमा समेत थप खोजबिन सुरु गरिएको स्रोतको दाबी छ ।
सोही स्रोतले यो प्रकरणमा एनआरएनका सञ्चालक समितिका अध्यक्ष सीताराम थपलियाको संलग्नता पुष्टि हुने प्रमाण प्राप्त भइसकेको र थप आधारहरु खोजेर 'कडा एक्सन' लिनेसम्मको तयारी भइरहेको दाबी गरेको छ ।
यस्तै, यो प्रकरणमा जोडिएका ब्रोकर, ठूला सेयर खेलाडी लगायतको कारोबार इतिहास पनि खोतल्ने काम भइरहेको छ ।
'यो प्रकरणमा जोडिएका कोही पनि उम्किन पाउने छैनन् ।' स्रोतले भन्यो- 'सबैको विषयमा एक–एक छानबिन हुन्छ । एक–एकलाई कारबाही गरिन्छ । यो प्रकरणमा भएको फट्याईंमा संलग्न कुनै पनि दोषी हाम्रो राडारबाट उम्किन पाउँदैनन् ।'
सम्बन्धित समाचार :
सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा

