काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले हकप्रसद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले तमोर नदीमा निर्माणाधिन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनामा निर्माणमा लगानी गर्ने उद्देश्यले हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने जम्मा सेयर पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको २ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले आगामी वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गरी हकप्रद निष्कासनका लागि आह्वान गर्ने निर्णय भएको जानकारी दिएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

