काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्ेसे परिसूचक १०.८३ अंक अर्थात ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५९.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,‘अर्थमन्त्रीले बोले अनुसार नीतिगत परिवर्तन केहि पनि भएको छैन । जसका कारण सेयर बजारमा केहि परिवर्तन भएको छैन । ठूला व्यवसायीहरु दबावमा पर्दे गएका छन् । आज सिमेन्ट कम्पनीहरुमा नाफा बुक हुँदा बजार घट्न पुगेको छ । ’
सरोकारवालाबाट गएको सुझाव सरकारले यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने गजुरेल बताउँछन् ।
अर्का बजार जानकार निमानन्द कंडेल पनि नियमनकारी निकायबाट कुनै पहल नहँदा बजार घटेको बताउँछन् । उनी भन्छन्,‘सरकारले तत्कालै बैंकहरुलाई अल्पकालिन लगानी गर्ने बाटो खोलिदिने,जोखिमभार घटाउने र क्याप हटाउन र ब्रोकरहरुबाट मार्जिन कारोबारको व्यवस्था गर्ने हो भने बजारमा लगानीकर्ताको मनोबल बढ्न जान्छ र बजारमा सुधार आउँछ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूह आज ०.९१ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै गिरावट वित्त समूहमा देखिएको छ । वित्त समूह १.७२ प्रतिशतले घटेको आज बैंकिङ ०.५६ विकास बैंक १.२०, होटल ०.७४,हाईड्रो ०.३७,लगानी ०.६८,जीवन बीमा ०.७६,लघुवित्त ०.६९,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.५८,अन्य ०.५३ र व्यापार समूह १.६० प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ९ करोड ७२ लाख बढीको सेयर कारोबार भएको छ । जोशी हाईड्रोको ८ करोड३२ लाख,सोनापुर मिनरल्सको ७ करोड ३३ लाख,हिमायन रिको ७ करोड १० लाख र गोर्खाज फाइनान्सको ५ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज सर्वोत्तम सिमेन्टको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै इष्टर्न हाईड्रोको सेयरमूल्य ७.२४,पिपुल्स पावरको ५.२२ र बलेफि हाईड्रोको सेयरमूल्य ४.२७ प्रतिशतले बढ्यो ।
आज कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.६६ प्रतिशतले घट्यो । यो दिन श्रृजनशिल लघुवित्तको सेयरमूल्य ३.९६ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ३.७३ प्रतिशतले घटेको छ ।