काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोपनाल्ड ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित ट्याङ्करको आवातजावतमाथि प्रतिबन्ध लगाएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । आजको कारोबारमा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।
यो समाचार तयार पार्दासम्म डब्लुटीआई क्रुडको मूल्य २.२३ प्रतिशत अर्थात १.२३ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ५६.६० डलरमा कारोबार भईरहेको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.१० प्रतिशत अर्थात १.२४ डलरले बढ्दै प्रतिब्यारेल ६०.१६ डलरमा कारोबार भईरहेको छ ।
अघिल्लो सेसनमा भने कच्चा तेलको मूल्य पाँच वर्षकै न्यून स्तरमा पुगेको थियो । युक्रेन र रुसबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता निष्कर्ष नजिक पुगेसँगै मस्कोमाथिको प्रतिबन्ध हट्ने अनुमानका साथ कच्चा तेलको मूल्य घटेको थियो ।
तर बुधबार सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले भेनेजुएलालाई आतंकवाद, लागूपदार्थको तस्करी र मानव बेचबिखनमा संलग्न भएको आरोप लगाउदै भेनेजुएला प्रवेश गर्ने र छोड्ने सबै स्वीकृत तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दीको आदेश दिएका थिए । जसपश्चात कच्चा तेलको मूल्य बढ्न पुगेको छ ।

