काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांशदर घटाएको छ । कम्पनीले गत असोज १ गते घोषणा गरेको लाभांश स्वीकृतीका लागि विद्युत नियमन आयोगसमक्ष पेश गरेको थियो ।
कम्पनीको उक्त प्रस्तावलाई पूर्वस्वीकृती दिन नसकिने भन्दै आयोगले पुस ८ गते पत्र काटेको थियो । सो पश्चात कम्पनीको पुस ८ गते दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशदर घटाउने निर्णय गरेको हो ।
बैठकले लाभांश प्रस्ताव संशोधन गरी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यसअघि भने कम्पनीले आव २०८१/८१ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।
कम्पनीले आगामी पुस ३० गते २८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

