काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा आफ्नो स्वास्थ्यसम्बन्धी सार्वजनिक बहसप्रति असन्तोष व्यक्त गर्दै आफू पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेका छन्।
‘द वॉल स्ट्रीट जर्नल’सँगको अन्तर्वार्तामा ट्रम्पले चिकित्सकको सल्लाहभन्दा बढी एस्पिरिन सेवन गर्ने गरेको बताएका छन्। साथै, हातमा देखिने नीलडाम लुकाउन कहिलेकाहीँ मेकअप प्रयोग गर्ने गरेको पनि उनले स्वीकार गरेका छन्।
ट्रम्पका अनुसार उनी नियमित रूपमा शारीरिक कसरत गर्दैनन्। अन्तर्वार्तामा उनले गत अक्टोबरमा सिटी स्क्यान गराएको जानकारी दिँदै यसअघि पत्रकारहरूसँग गल्तीवश आफूले अझ विस्तृत एमआरआई स्क्यान गराएको भनेको स्वीकार गरे।
७९ वर्षीय ट्रम्प अमेरिकी इतिहासमा शपथ ग्रहण गर्ने सबैभन्दा पाको उमेरका राष्ट्रपति हुन्। यस कारण उनको स्वास्थ्य र उमेरसम्बन्धी अवस्थाबारे सार्वजनिक चासो बढ्दै आएको छ। केही अवसरमा उनी बैठकका क्रममा झप्किएको देखिएको र प्रश्नहरू स्पष्ट रूपमा नसुनेको अवस्था देखिएको भन्ने रिपोर्टहरू सार्वजनिक भएका छन्।
जर्नलका अनुसार ट्रम्पले आफ्नो स्वास्थ्यबारे भइरहेको सार्वजनिक बहसप्रति आक्रोश व्यक्त गरेका छन् र ती बहसलाई उनले पूर्ण रूपमा अनावश्यक भनेका छन्।

