काठमाण्डौ । नर्वेजियन नोबेल इन्स्टिच्युटले एक विज्ञप्ति जारी गर्दै नोबेल शान्ति पुरस्कार एकपटक घोषणा भइसकेपछि न त फिर्ता लिन मिल्ने, न त अरूलाई हस्तान्तरण गर्न वा साझा गर्न मिल्ने स्पष्ट गरेको छ।
यो विज्ञप्ति भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन वा उनीसँग साझा गर्न चाहेको अभिव्यक्ति दिएपछि आएको हो। माचाडोले सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा यस्तो भनाइ राखेकी थिइन्।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा इन्स्टिच्युटले भनेको छ, ‘नोबेल पुरस्कार एकपटक घोषणा भइसकेपछि यसलाई फिर्ता लिन, साझा गर्न वा अरू व्यक्तिलाई ट्रान्सफर गर्न सकिँदैन।’
विज्ञप्तिमा नर्वेजियन नोबेल कमिटी पुरस्कार विजेताले पुरस्कार प्राप्त गरेपछि के भन्छन् वा के गर्छन् भन्ने विषयमा कुनै टिप्पणी नगर्ने बताइएको छ। ‘कमिटीको दायित्व केवल नामांकन गरिएका उम्मेदवारहरूको कार्य र प्रयासहरूको मूल्याङ्कन गर्ने मात्र हो, जबसम्म सो वर्षका लागि नोबेल शान्ति पुरस्कार कसलाई दिने भन्ने निर्णय हुँदैन’ विज्ञप्तीमा उल्लेख छ ।
इन्स्टिच्युटका अनुसार, नोबेल शान्ति पुरस्कारको घोषणा भइसकेपछि गरिएको निर्णय सधैंका लागि अन्तिम र मान्य हुने गर्दछ ।

