काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिन मै कम्पनीको आइपीओमा १.०५ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आइपीओमा ६ लाख ९६ हजार ४७१ जनाले कुल ८६ करोड ३९ लाख एक हजार रुपैयाँ बराबरको ८६ लाख ३९ हजार १० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
यो आईपीओ निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

