काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया पारदर्शी बनाउन विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत ग्राहकहरूले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण सजिलैसँग हेर्न सक्नेछन्। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशन सहित गुगल म्याप लिंक उपलब्ध गराइएको छ।
लिलाम बिक्रीमा रुचि राख्ने ग्राहकहरूले पोर्टलमा रहेको म्यासेज बक्स प्रयोग गरी थप जानकारीका लागि आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सोधपुछ गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
बैंकका अनुसार, अनलाइन पोर्टलमा नियमित रूपमा लिलाम बिक्री सम्बन्धी नयाँ सम्पत्ति र सूचनाहरू अपडेट गरिनेछ। यसले खरिद गर्न इच्छुक ग्राहकहरूलाई सजिलै सम्पत्तिको विवरण हेर्न र निर्णय लिन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

