काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७.३० अंक अर्थात ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ३५६.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘दुई–तीनवटा कारणले आज पनि बजारमा गिरावट आयो । आज सर्वोत्तम सिमेन्टको सेयरमा बिक्री दबाब पर्दा बजार घट्न पुग्यो । आईपीओ पर्नेहरुले सेयर बिक्री गर्न थाले । बजारमा चैत मसान्तको पनि प्रभावले गर्दा लगानीकर्ताले सेयर बिक्री गरेको देखियो ।’
यसका साथै प्राविधिक विश्लेषणका आधारमा लगानी गर्नेहरुले समेत सेयर बिक्री गर्दा बजारमा दबाब सिर्जना भएको उनले बताए ।
अर्का बजार जानकार दामोदर गजुरेल पनि सर्वोत्तम सिमेन्टमा बिक्री दबाब पर्दा बजार घट्न पुगेको बताउँछन् । ‘सप्लाई बढ्दै जादा लगानीकर्ताको मनोबल घटेको छ । नयाँ सरकार पनि अलमलमै हुँदा लगानीकर्ता ढुक्क भएर लगानी गर्ने अवस्थामा छैनन् । आज ठूलो लगानीकर्ताले पनि सेयर बिक्री गरेको देखिन्छ ।’
गजुरेलका अनुसार धेरैजसो चैत महिनामा बजार खस्ने नै भएकाले बजार एकपटक २ हजार विन्दुबाट तल आउन सक्छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह ०.५३ अंकले घटेको आज विकास बैंक १.०९।वित्त ०.६२,होटल ०.७६,हाईड्रो ०.०८,लगानी ०.७९,जीवन बीमा ०.९९,उत्पादन तथा प्रशोधन ३.६५,लघुवित्त १.२०,म्युचुअल फण्ड ०.७३,अन्य ०.७१ र व्यापार समूह १.७४ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज सर्वोत्तम सिमेन्टको सर्वाधिक अर्थात २८ करोड ६८ लाख बढीको सेयर कारोबार भएको छ ।
यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख,शिवम् सिमेन्टको ११ करोड ५५ लाख,हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाख र रिभर फल्स पावरको ९ करोड ८ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै्र सकारात्मक सर्किट लाग्यो । यो दिन उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ७.७४ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ७.०८ प्रतिशतले बढेको छ ।
यो दिन सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल(बालाजु)ंको सेयरमूल्य ७.६४ प्रतिशतले घटेको आज सीवाईसी लघुवित्तको ५.८२ र समाज लघुवित्तको सेयरमूल्य ५.७७ प्रतिशतले घट्यो ।