काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले विरोध जारी राखेमा ट्यारिफ लगाउने आफ्नो धम्की शतप्रतिशत कार्यान्वयन गर्ने चेतावनी दिएका छन्।
युरोपका विभिन्न देशहरूले ग्रीनल्यान्डको सार्वभौमिकताको समर्थन गर्दै एकजुटता जनाएका छन्। डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले अमेरिकी राष्ट्रपति धम्कीका भरमा अर्ध–स्वायत्त डेनिश क्षेत्र ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा लिन नसक्ने स्पष्ट पारे।
बेलायतकी विदेशमन्त्री यवेट कूपरले पनि ग्रीनल्यान्डको भविष्य निर्धारण गर्ने अधिकार त्यहाँका जनता र डेनमार्ककै रहेको बताइन्।
सोमबार राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड हासिल गर्न बल प्रयोग नगर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरे। उनले बेलायत र नाटोका अन्य सात सहयोगी देशबाट अमेरिका आयात हुने वस्तुहरूमा ट्यारिफ लगाउने योजनालाई अघि बढाउने स्पष्ट पारे।
ट्रम्पका अनुसार फेब्रुअरी १ देखि बेलायतबाट अमेरिका आयात हुने सबै सामानमा १० प्रतिशत ट्यारिफ लगाइनेछ, जुन जुन १ देखि बढेर २५ प्रतिशत पुग्नेछ। डेनमार्कसँग ग्रीनल्यान्ड खरिदबारे कुनै सम्झौता नभएसम्म यो व्यवस्था लागू रहने उनले बताए।
यही नीति डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स र फिनल्यान्डमा पनि लागू हुने ट्रम्पले स्पष्ट पारे। यी सबै देश सन् १९४९ मा स्थापना भएको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का सदस्य हुन्।
युरोपेली संघकी विदेश नीति प्रमुख काया कालसले भनिन्, ‘युरोपेली संघ कसैसँग टकराव चाहँदैन, तर आफ्नो अडानमा अडिग रहनेछ।’
उनले थपिन्, ‘व्यापारिक धम्की समस्या समाधानको उपाय होइन। सार्वभौमिकता कुनै सौदाबाजीको विषय हुन सक्दैन।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।