काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने विभिन्न वस्तुमा लाग्ने ट्यारिफ बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि १५ प्रतिशत रहेको ट्यारिफ वृद्धि गर्दै उनले यसलाई पारस्परिक (रेसिप्रोकल) ट्यारिफको संज्ञा दिएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमा राष्ट्रपति ट्रम्पले कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा ट्यारिफ वृद्धि लागू हुने जानकारी दिएका हुन्। उनका अनुसार दक्षिण कोरियाले गत वर्ष सम्पन्न व्यापार सम्झौताको प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप छ।
ट्रम्पले उक्त सम्झौताअन्तर्गत अमेरिकाले आफ्ना ट्यारिफ छिटो घटाएको भए पनि दक्षिण कोरियाको संसद्ले सम्झौतामा अनुमोदन गर्न ढिलाइ गरेको आरोप लगाएका छन्। यदि कुनै देशले अमेरिकी उत्पादनमा उच्च आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि सोही देशका उत्पादनमा समान रूपमा उच्च शुल्क लगाउने नीतिलाई उनले पारस्परिक ट्यारिफ भनेका छन्।
यता, दक्षिण कोरियाले भने ट्यारिफ वृद्धि सम्बन्धी कुनै आधिकारिक सूचना प्राप्त नभएको जनाएको छ। साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्न आग्रह गरेको छ।

