काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्स को संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आज(चैत २० गते )समाप्त हुन लागेको जनाएको हो ।
साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।
साविकको ज्योति लाइफले २०७७ फागुन २३ गतेदेखि फागुन २८ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई २०७७ चैत १३ गते बाँडफाँड गरिएको थियो ।
साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता,संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता गरी कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर कम्पनीका सञ्चालक,कार्यकारी प्रमुख,कम्पनी सचिव,उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखा सम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।