काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको नियुक्ति पत्रबाट उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् ।
उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नु भई २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताइन् ।
उनी कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार व्यक्त गरिन् ।
आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उहाँले आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरिन् ।

