काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.५७ प्रतिशत अर्थात १२८ डलरले बढेको छ ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार १०६ डलरमा कारोबार भईरहेको छ ।
गत बुधबार फेडरल रिजर्भले पछिल्लो फेडरल ओपन मार्केट कमिटी बैठकका मिनेट्स सार्वजनिक गरेपछि विश्व बजारमा मिश्रित संकेत देखिएको छ। मिनेट्सअनुसार समिति दुई धारमा विभाजित देखिएको छ । एक पक्षले मुद्रास्फीति घट्दै गएको प्रारम्भिक संकेत देखिएमा अपेक्षाभन्दा चाँडै नीतिगत ब्याजदर कटौती पुनः सुरु गर्न सकिने धारणा राखेको छ भने अर्को पक्षले केही समय थप ‘हल्का’ उपभोक्ता मूल्य सूचकांकका तथ्यांक आएपछि मात्र वर्षको पछिल्लो चरणतिर कटौती उपयुक्त हुने तर्क अघि सारेको छ।
कुन धार बलियो बन्छ भन्ने निष्कर्ष निकाल्न अझै चाँडो हुने विश्लेषकहरूको भनाइ छ। तर यस अनिश्चितताका बीच पनि बजारले भने सम्भावित चाँडो दर कटौतीतर्फ झुकाव देखाएको छ।
यसैबीच, मध्यपूर्वमा अमेरिकी सैन्य जनशक्ति र सामग्रीको ठूलो संख्यामा परिचालन भएको खबर सार्वजनिक भएपछि भू–राजनीतिक जोखिम बढेको संकेत मिलेको छ। अमेरिकाले संवेदनशील इरानी लक्ष्यहरूमा आक्रमण गर्न सक्ने अड्कलबाजी बढेसँगै ‘रिस्क–अफ’ प्रवृत्ति कमोडिटी बजारमा हाबी देखिएको छ ।
यी विविधि कारणले सुनको मूल्यमा उछाल आएको विश्लेषकहरुले बताएका छन् ।
यस्तै पछिल्लो समय चाँदीको मूल्य पनि ८.९२ प्रतिशत अर्थात ६.९३ डलरले बढेर प्रतिऔंस ८४ डलरमा कारोबार भईरहेको छ ।

