काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।
आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खुलेको केही समयमा नै नेप्से परिसूचक घट्न थालिसकेको थियो । सँधै बाक्लो उपस्थिति हुने ब्रोकर हाउसहरुमा आज लगानीकर्ताहरुको सामान्य मात्रै उपस्थिति देखिन्थ्यो ।
चुनावी माहोलका कारण प्राय सबै ब्रोकर हाउसमा लगानीकर्ताहरु चुनावी विषयसँगै सेयरबजारका कुराकानी गरेको हामीले भेट्यौं ।
सर्वप्रथम हामी घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४ मा पुग्यौं । उक्त ब्रोकरमा लगानीकर्ताहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । सबैजना लगानीकर्ताहरु एकआपसमा गफिदै थिए । पछाडी सिटमा बसेका लगानीकर्ताहरु चुनावी विषयसँगै विभिन्न राजनीतिक दलहरुको विषयमा कुराकानी गर्दै थिए भने अगाडी सिटमा बसेका लगानीकर्ताहरु विभिन्न स्क्रिप्ट हेर्दै कुरा गरिरहेका थिए ।
पछाडी बसेका लगानीकर्ताहरु कुन पार्टीलाई मत दिने भन्ने विषयमा छलफल गरिरहेका थिए । एकजना लगानीकर्ताले भने, ‘नयाँ दल र नयाँ उम्मेदवार भन्ने बित्तिकै सबै राम्रा नहुन सक्छन्, मत दिनुअघि राम्रोसँग सोच्नुपर्छ है साथीहरु’ ती लगानीकर्ताले थपे, ‘बरु म त राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्न चाहान्छु, एजेण्डा पनि राम्रो छ ।’
उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘हो मलाई पनि त्यस्तै लाग्छ, चुनाव दिनुअघि कुन पार्टीको एजेण्डा कस्तो छ त्यो राम्रोसँग हेर्नुपर्छ, अझै हामी लगानीकर्ताले सेयरबजारसम्बन्धि योजना तथा एजेण्डाहरुको आधारमा मत दिनुपर्छ जस्तो लाग्छ मलाई ।’
यसरी पछाडी बसेका लगानीकर्ताहरु कुल दललाई मत दिने भन्ने विषयमा छलफल गरिरहेका थिए भने अगाडी बस्नेहरु भने हाइड्रो कम्पनीसँगै नयाँ सूचीकृत कम्पनीहरुको विषयमा छलफल गर्दै थिए । एजना लगानीकर्ताले भने एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरभाउ अझै घटेमा किन्नुपर्ने तर्क व्यक्त गरे ।
बजार अझै घट्ने क्रम जारी थियो । त्यसपछि हामी त्यहाँबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकरमा लगानीकर्ताको उपस्थिति सामान्य रहेपनि एकआपसमा सेयरबजारसँगै राजनीतिक विषयमा कुराकानी गर्दै थिए ।
त्यत्तिकैमा एकजना महिला लगानीकर्ताले सुपरमादी हाइड्रोपावरको सेयर किनेको कुरा अन्य लगानीकर्तालाई सुनाईन् । ‘सुपरमादीको सेयर ४५२ रुपैयाँमा २०० कित्ता उठाइदिए साथी हो मैले त ! सेयरभाउ बढेको रहेछ, त्यहि पनि किन्दिए’ उनले भनिन्, ‘अब अरु स्क्रिप्ट हेर्दा खासै किनौं किनौं लागेन अस्ति साथीहरुले यहि स्क्रिप्ट किन्न सल्लाह गरेका थिए आज उठाइदिए ।’
त्यस्तै, अर्का लगानीकर्ताले भने नयाँ कम्पनीहरु उठाउन पाए फाइदा हुने आँकलन व्यक्त गरे । ‘सालपा विकास बैंकको सेयर कति सम्म पुग्ला साथी हो, यसो ६÷७ सय रुपैयाँमा किन्न पाए त फाइदा हुन्थ्यो कि भन्ने अपेक्षा थियो’ उनले भने, ‘रिलायन्स स्पिनिङ मिल्सको पनि ७÷८ सय रुपैयाँ पुगेपछि त बिक्रीमा आउँछ कि जस्तो लाग्छ, त्यतिमा खेलाडीहरुले किन्न पायो भने त फेरी रिलायन्सको मूल्य २ हजार रुपैयाँमाथि पुर्याउँछन् ।’
एकछिनपछि अर्की महिला लगानीकर्ताले स्क्रिन बोर्डतर्फ आँखा लगाउँदै भनिन्, बजार त झन घट्दै गयो, २ बजेपछि केही सम्हालिन्छ कि भन्ने आशा थियो अब झन घट्ने भो !’
उनको कुरामा थप्दै अर्को लगानीकर्ताले भने, ‘अब यो साता मात्रै हो बजार खुल्ने त्यसपछि चुनाव भइहाल्यो, अब यो हप्ता बजार बढ्ने छाँटकाँट देखिदैन, सम्भवः चुनावपछि नै बजार बढ्ने आशा छ, अब हेरौं के हुन्छ ।’
त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर बानेश्वरमा रहेको नागरिक स्टक डिलर (ब्रोकर नं. ६०)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । लगानीकर्ताहरु एक आपसमा गफ गर्दै थिए ।
पछाडी बसेका लगानीकर्ताहरु हाइड्रो समूहका विभिन्न कम्पनीको चर्चा गर्दै थिए भने अगाडी बस्ने लगानीकर्ताहरु लो क्याप कम्पनीहरुको कुरा गर्दै थिए ।
त्यत्तिकैमा एकजना लगानीकर्ताको फोन बज्यो र उनले उठाउँदै भने, ‘सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर किन्नुभन्दा त ग्रीन डेभलपमेन्ट बैंकको सेयर किन्नु फाइदा देख्छु, म त जीआरडीबीएल नै किन्छु होस् ।’
पछाडी बसेका लगानीकर्ताहरु हाइड्रो समूहले गर्दा बजार धानेको र पछिल्लो समय हाइड्रो समूहमा नै लगानीकर्ताको आकर्षण रहेको कुरा गर्दै थिए ।
सोही ब्रोकर हाउसमै बाहिर बसेका लगानीकर्ताहरु भने चुनावी विषयमा छलफलसँगै राजनीतिक दलहरुको कुरा गर्दै थिए । एकजना लगानीकर्ताले नयाँलाई पनि सोचेर मात्रै भोट दिनुपर्ने सल्लाह अरुलाई दिदै थिए । ‘नयाँ भन्ने बित्तिकै मत राम्रो गर्छन् भन्ने ग्यारेन्टी छैन, मत दिनुअघि एकपटक राम्रोसँग सोच्नुपर्छ’ उनले भने, ‘मलाई त यो रास्वपामा बालेन भन्दा रवि लामिछाने नै ठिक लाग्छ बरु साथै नेपाली कांग्रेसका गगन थापाले पनि केही गर्छ कि यो पटक भन्ने आशा पलाएको छ ।’

