काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ११ गतेदेखि निष्कासन गरेको कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गरेको छ।
निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ २१ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो।

