काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएसँगै नेपाली सेयरबजारमा नयाँ ऊर्जा देखिएको छ। वर्षौंदेखि स्थिर सरकार र नीतिगत स्पष्टताको अपेक्षा गर्दै आएका लगानीकर्ताहरुका लागि यसपटकको जनादेशले सकारात्मक संकेत दिएको छ।
चुनावपछिको पहिलो कारोबार दिनमै बजारमा देखिएको उछालले यो आशालाई थप बलियो बनायो। नेप्से सूचकांक झण्डै ६ प्रतिशतले उकालो लाग्दै २८७५.४४ विन्दुमा पुगेको थियो, जहाँ तीन पटक सर्किट ब्रेक लागेर जम्मा केही मिनेट मात्रै कारोबार भएर बजार दिनभरका लागि बन्द भयो।
त्यसयता बजारको दैनिक गतिविधि हेर्दा स्पष्ट हुन्छ: नयाँ सरकारप्रतिको विश्वास र सुधारमुखी आर्थिक नीतिको अपेक्षाले लगानीकर्ताको माग तीव्र बन्दै गएको छ।
सेक्टर रोटेसनको केन्द्रमा ‘हाइड्रो’
सेयरबजारमा सेक्टर रोटेसन एउटा स्थापित रणनीति हो, जहाँ लगानीकर्ताले आर्थिक चक्रअनुसार आफ्नो पूँजी फरक–फरक समूहमा सार्ने गर्छन्। अहिले यही ट्रेन्ड हाइड्रो सेक्टरमा स्पष्ट देखिएको छ।
लामो समयसम्म ओझेलमा परेको जलविद्युत समूह अहिले बजारको ‘स्टार’ बनेको छ। केही कम्पनीमा लगानी गर्नेहरुले छोटो अवधिमै उल्लेखनीय मुनाफा कमाएका छन्, जसले थप लगानीकर्तालाई आकर्षित गरिरहेको छ।
नेप्सेको डेली फ्लोरसिट हेर्दा गेनर र टर्नओभरको शीर्ष सूचीमा दैनिकजसो हाइड्रो कम्पनीहरुको वर्चस्व देखिन्छ।
चर्चामा रहेका हाइड्रो कम्पनीहरु
पछिल्लो समय बजारमा विशेष चर्चा कमाइरहेका कम्पनीहरुमा रिडि पावर, आँखुखोला जलविद्युत, नेशनल हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री, बलेफी, लिबर्टी इनर्जी, अरुण काबेली, ग्रीनलाइफ, ङादी ग्रुप, अपि पावर र सिंगटी हाइड्रो प्रमुख छन्।
यी कम्पनीहरुमा देखिएको तीव्र मूल्यवृद्धिले समग्र हाइड्रो सेक्टरप्रति लगानीकर्ताको ध्यान केन्द्रित गराएको छ।
रु. ३०० मुनिका सेयर किन हुँदैछन् दुर्लभ ?
हाइड्रो सेक्टरमा बढ्दो मागसँगै दोस्रो बजारमा रु. ३०० मुनिका कम्पनीहरुको संख्या क्रमशः घट्दै गएको छ। लगानीकर्ताहरु ‘सस्तो’ देखिएका कम्पनीहरु छानी–छानी उठाइरहेका छन्।
केही कम्पनीको मूल्य तीव्र रुपमा उक्लिएपछि त्यसको मनोवैज्ञानिक प्रभाव अन्य साना र सस्ता कम्पनीमा पनि देखिन थालेको छ। बजारमा अहिले “अब यी पनि बढ्छन्” भन्ने भावना बलियो बन्दै गएको छ।
लगानीकर्ताका लागि संकेत के ?
यदि हाइड्रो सेक्टरप्रतिको आकर्षण यस्तै कायम रहने हो भने रु. ३०० वा सोभन्दा कम मूल्य भएका कम्पनीहरु लगानीकर्ताका लागि ‘अन्डरभ्यालु’ अवसर बन्न सक्ने देखिन्छ।
यस्तो अवस्थामा सस्तो जलविद्युत कम्पनीहरुको सूची तयार गरेर रणनीतिक रुपमा प्रवेश गर्ने लगानीकर्ताले आगामी दिनमा राम्रो प्रतिफल पाउने सम्भावना बलियो छ।


