काठमाण्डौ । दिग्गज ब्रोकरेज फर्म म्याक्वेरीले ठूलो चेतावनी दिएको छ । यदि इरान–अमेरिका बीचको युद्ध जुन महिनासम्म लम्बियो र स्ट्रेट अफ होर्मुज बन्द नै रह्यो भने कच्चा तेलको मूल्य २०० अमेरिकी डलर प्रति बैरल सम्म पुग्न सक्ने सम्भावना रहेको छ ।
म्याक्वेरीका अनुसार यो परिदृश्यको सम्भावना करिब ४० प्रतिशत छ । तर, अझ बढी आशावादी परिदृश्य (६० प्रतिशत सम्भावना) अनुसार मार्च महिनाको अन्तसम्म नै युद्धमा कमी आउन सक्ने र तनाव घट्ने बताइएको छ ।
स्ट्रेट अफ होर्मुज विश्वको तेल आपूर्तिको महत्वपूर्ण चोकपोइन्ट हो । यसबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने गर्छ । इरानले यो समुद्री मार्गलाई लगभग बन्द गरेपछि तेल आपूर्तिमा ठूलो प्रभाव परेको छ । युद्ध सुरु भएको एक महिनादेखि नै यस क्षेत्रमा अस्थिरता बढेको छ ।
समाचार एजेन्सीका अनुसार, मार्च २७ मा दुई चिनियाँ जहाजहरूलाई होर्मुजबाट गुजर्न रोकेपछि तेलको मूल्यमा उछाल आएको थियो । हाल ब्रेन्ट क्रूडको मूल्य १११ डलर प्रति बैरल नाघिसकेको छ भने WTI पनि ९७ डलर आसपास छ । यो मार्च महिनाको सबैभन्दा ठूलो मासिक उछालमध्ये एक हो ।
म्याक्वेरीले भनेको छ, “यदि स्ट्रेट अफ होर्मुज लामो समयसम्म बन्द रह्यो भने तेलको मूल्य यति उच्च हुनुपर्छ कि यसले विश्वव्यापी तेल मागमा ठूलो गिरावट ल्याउन सक्छ ।” युद्ध दोस्रो त्रैमासिकसम्म चलेमा तेलको वास्तविक मूल्य ऐतिहासिक उच्च स्तरमा पुग्ने उनीहरूको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज खोल्न १० दिनको समय दिएका छन् र ६ अप्रिलसम्म इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा इरानसँगको कुराकानी सकारात्मक रहेको उल्लेख गरेका छन् ।
यदि युद्ध लम्बियो भने विश्वव्यापी महँगी बढ्ने, ऊर्जा संकट निम्तिने र विभिन्न वस्तुको मूल्यमा ठूलो वृद्धि हुन सक्ने चिन्ता बढेको छ । नेपाल जस्ता तेल आयात गर्ने देशहरूमा पनि पेट्रोल, डिजेल र दैनिक उपभोग्य वस्तुको मूल्य प्रभावित हुन सक्छ ।

