काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भनिएकोमा नेपाल सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाले पूर्व निर्धारित निष्कासन अवधि परिवर्तन गर्नुपरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
अब यो आईपीओमा वैशाख ३ गतेदेखि खरिद आवेदन दिन सकिने छ । आईपीओ निष्कासन बन्द भने वैशाख ८ गते हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ । सो मध्येबाट कम्पनी २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

