काठमाडौं । पछिल्ला दिनमा NEPSE Index सुधारको लयमा फर्किए पनि सेयर बजारको कारोबार रकम भने अपेक्षाअनुसार बढ्न सकेको छैन। अर्थमन्त्री स्वर्णिम वाग्ले ले पूँजीबजार सुधारका संकेत दिएपछि बजारले ‘बाउन्स ब्याक’ गरे पनि भोल्युम घट्दै जानुले बजारको दिगोपनबारे प्रश्न उठ्न थालेको छ।
विश्लेषकहरूका अनुसार सूचक उकालो लाग्नु सकारात्मक संकेत भए पनि कारोबार रकम कमजोर हुँदा बजारले बलियो गति समात्न नसक्ने जोखिम रहन्छ। विशेषगरी नेप्से २९००–३००० को स्तरतर्फ जान कारोबार रकम उल्लेख्य रूपमा बढ्नुपर्ने उनीहरूको भनाइ छ।
घनश्याम पाण्डेका अनुसार पछिल्लो समय ठूला लगानीकर्ता सक्रिय नदेखिनु र चैत मसान्तको वित्तीय दबाबका कारण बजारमा कारोबार रकम घटेको हो। उनका अनुसार ब्रोकर कम्पनीहरूले हिसाब मिलाउनुपर्ने समय भएकाले उनीहरू पनि सक्रिय नभएको र यही कारण दैनिक कारोबार १० अर्ब रुपैयाँभन्दा तल झरेको छ।
केही दिनअघि ठूला व्यवसायी तथा लगानीकर्तामाथि भएको कारबाही र सेयर रोक्काको प्रभावले पनि बजारको भोल्युम प्रभावित भएको उनले बताए। “मसान्तपछि यस्तो दबाब हट्ने भएकाले कारोबार पुनः बढ्नेछ,” उनले भने।
त्यस्तै, छोटेलाल रौनियारले राजनीतिक अस्थिरता र पछिल्लो घटनाक्रमले लगानीकर्तामा केही त्रास सिर्जना गर्दा कारोबार रकममा प्रत्यक्ष असर परेको बताए। उनका अनुसार बजारमा आएको पैसा सबै अवैध नहुने भएकाले अनावश्यक त्रासले बजारलाई कमजोर बनाउने चेतावनी दिए।
बजार विश्लेषक सालिकराम ढकालका अनुसार सूचकमा सुधार देखिए पनि त्यसलाई साथ दिने भोल्युम नहुँदा बजार अझै पूर्ण रूपमा सुदृढ भइसकेको छैन। “ठूला लगानीकर्ता पूर्ण रूपमा फर्किएका छैनन्, तर सानो सुधारले लगानीकर्तामा आत्मविश्वास फर्किन थालेको संकेत दिएको छ,” उनले भने।
विज्ञहरूका अनुसार चैत मसान्तपछि ब्याज भुक्तानीको दबाब हट्दै जाँदा र लगानीकर्ता पुनः सक्रिय बन्दै जाँदा बजारमा कारोबार रकम बढ्ने सम्भावना छ। वैशाखदेखि बजार थप स्थिर र दिगो बन्ने संकेत देखिए पनि हालका लागि ‘भोल्युम’ नै मुख्य चुनौतीका रूपमा देखिएको छ।

