काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच सम्भावित कूटनीतिक वार्तालाई क्षेत्रीय तनाव कम गर्ने राहतको अवसरका रूपमा प्रस्तुत गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरिएको एक पोस्टमा उनले दुबै देशका नेताबीच लामो समयपछि संवादको पहल भइरहेको उल्लेख गर्दै छिट्टै वार्ता हुने दाबी गरेका छन्।
ट्रम्पका अनुसार इजरायल र लेबनानबीच करिब ३४ वर्षदेखि उच्चस्तरीय प्रत्यक्ष संवाद हुन सकेको छैन, र प्रस्तावित वार्ताले सम्बन्ध सुधारतर्फ महत्वपूर्ण कदम हुन सक्ने संकेत दिएका छन्।
तर, लेबनानका एक उच्च अधिकारीले उक्त दाबीलाई अस्वीकार गरेका छन्। उनले इजरायलसँग सम्भावित वार्ताको समय वा मिति सम्बन्धमा आफूहरूलाई कुनै औपचारिक जानकारी नभएको बताएका छन्।
यसअघि, अप्रिल १४ मा इजरायल र लेबनानबीच झन्डै तीन दशकपछि पहिलोपटक कूटनीतिक स्तरमा संवाद भएको थियो। उक्त पहलको मुख्य उद्देश्य इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच जारी द्वन्द्व अन्त्य गर्नु रहेको बताइएको छ।
यस प्रक्रियामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए। उनले उक्त वार्तालाई ऐतिहासिक अवसरको संज्ञा दिँदै क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण कदम भएको बताएका थिए।
अमेरिकाले दुबै पक्षबीच प्रत्यक्ष संवाद सुरु गर्ने सहमति भएको जानकारी दिएको छ, यद्यपि वार्ताको समय र स्थान अझै तय भइसकेको छैन।
इजरायल र लेबनानबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन। दुबै देशबीच अन्तिम उच्चस्तरीय प्रत्यक्ष वार्ता सन् १९९३ मा भएको थियो।
उता, मार्च २ देखि लेबनानमा इजरायली सैन्य कारबाही सुरु भएपछि हालसम्म दुई हजारभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ। यो सैन्य गतिविधि इरानमा अमेरिका र इजरायलका हमलापछि केही दिनमै सुरु भएको थियो, जसले क्षेत्रीय तनावलाई थप चर्काएको छ।

