काठमाण्डौ । मध्यपूर्वमा बढ्दो राजनीतिक र सैन्य तनावका कारण अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। ब्रेन्ट क्रुडको मूल्य सोमबार ५.२४ प्रतिशतले बढेर प्रतिब्यारेल ९५.१२ डलर पुगेको छ।
यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि ५.८४ प्रतिशतले वृद्धि भएर प्रतिब्यारेल ८८.७५ डलरमा कारोबार भईरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले इरानको झण्डा बोकेको एक कार्गो जहाज नियन्त्रणमा लिएको दाबी गरेपछि बजारमा थप अस्थिरता देखिएको हो। सो घटनापछि सोमबार बिहानैदेखि तेल बजारमा तीव्र उतारचढाव देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच, इरानले शनिबार होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई रोक लगाउने र सो क्षेत्र प्रवेश गर्ने जहाजहरूलाई लक्षित गर्ने चेतावनी दिएको थियो। विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक मानिने यो जलमार्ग बन्द हुने आशंकाले ऊर्जा बजारमा ठूलो प्रभाव पारेको छ।
यसअघि २८ फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इजरायल–इरान तनावका कारण विश्व ऊर्जा बजारमा निरन्तर अस्थिरता देखिँदै आएको छ।
कूटनीतिक प्रयास अन्तर्गत ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल सोमबार पाकिस्तान हुँदै इरानसँग वार्ताका लागि पठाइने बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा उक्त प्रतिनिधिमण्डल जाने बताइएको छ।
तर इरानी सरकारी सञ्चारमाध्यमले हालका लागि कुनै पनि वार्तामा सहभागी हुने योजना नरहेको स्पष्ट पारेका छन्, जसले स्थिति अझ जटिल बन्न सक्ने संकेत दिएको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी तनाव लम्बिँदै गएमा तेल आपूर्ति श्रृंखला प्रभावित भई विश्व बजारमा मूल्य अझ बढ्न सक्ने सम्भावना रहेको छ।

