काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने सम्भावनालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। उनले यस्तो प्रश्नलाई मूर्खतापूर्ण भन्दै खारेज गरेका छन्।
ओभल अफिसमा सञ्चारकर्मीसँगको नियमित भेटघाटका क्रममा एक पत्रकारले ‘के तपाईं इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए। यसको जवाफमा ट्रम्पले भने, ‘होइन। यस्तो मूर्खतापूर्ण प्रश्न किन सोधिन्छ ?’
उनले थपे, ‘हामीले परमाणु हतियार प्रयोग नगरी नै इरानलाई पूर्ण रूपमा कमजोर बनाइसकेका छौं, त्यस अवस्थामा म किन परमाणु हतियार प्रयोग गर्ने ?’
राष्ट्रपति ट्रम्पले परमाणु हतियारको प्रयोग अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै यस्तो हतियार प्रयोग गर्ने अधिकार कसैलाई पनि सजिलै दिन नहुने बताएका छन्।

