काठमाण्डौ । डोनाल्ड ट्रम्पले बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको हालै सम्पन्न राजकीय भ्रमणको सम्मानमा अमेरिकी बजारमा ह्विस्की आयातमा लाग्दै आएका सबै ट्यारिफ र प्रतिबन्ध हटाउने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपतिले स्कटल्याण्ड र केन्टकी राज्यबीच ह्विस्की तथा बोरबन उद्योगमा सहकार्य गर्न लगाइएका अवरोधहरू पनि हटाइएको बताएका छन्। बेलायती सरकारले यो निर्णय स्कटिस मात्र नभई आयरिस ह्विस्कीमा लाग्दै आएका सबै ट्यारिफमा लागू हुने जनाइएको छ ।
उद्योग क्षेत्रका प्रतिनिधिहरूका अनुसार यस निर्णयले हाल दबाबमा रहेको बेलायतको डिस्टिलरी क्षेत्रलाई ठूलो राहत मिल्नेछ र उत्पादकहरूले केही हदसम्म सहज रूपमा काम गर्न सक्नेछन्।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राजा र रानीको भ्रमणले मलाई यस्तो निर्णय गर्न प्रेरित गर्यो, जुन अरू कसैले गराउन सकेका थिएनन्।’
राजा चार्ल्स र रानी क्यामिलाले चार दिनसम्म अमेरिका भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनीहरूले वासिङ्टन डीसी, न्युयोर्क र भर्जिनियाको अवलोकन गरेका थिए।
बकिङ्घम दरबारका एक प्रवक्ताले राजाको तर्फबाट ट्रम्पप्रति हार्दिक आभार व्यक्त गर्दै उक्त कदमको सम्मानमा एक पेग उठाइने’ बताएका छन्।
स्कटल्याण्डका प्रथम मन्त्री जोन स्विनीले यसलाई स्कटल्याण्डका लागि अत्यन्त सकारात्मक समाचार भन्दै स्वागत गरेका छन्। उनका अनुसार ट्यारिफका कारण स्कटल्याण्डको अर्थतन्त्रले प्रत्येक महिना करोडौँ पाउन्ड बराबरको क्षति व्यहोर्दै आएको थियो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै यो निर्णय बेलायतका राजा र रानीको सम्मानमा गरिएको उल्लेख गरेका छन्। उनले स्कटल्याण्ड र केन्टकीबीचको ऐतिहासिक सम्बन्ध तथा बोरबनका काठका ब्यारेलहरूको आपूर्ति जस्ता पक्षहरूलाई पनि जोड दिएका छन्।
स्कटिस व्हिस्की उद्योगले प्रत्येक वर्ष करिब २०० मिलियन पाउन्ड बराबरका बोरबन ब्यारेलहरू केन्टकीबाट आयात गर्दै आएको छ, जुन उत्पादन प्रक्रियाको महत्वपूर्ण हिस्सा हो।
स्कच ह्विस्की एसोसिएसनका रणनीति निर्देशक ग्रेम लिटलजोहनले यस निर्णयलाई स्वागत गर्दै ट्यारिफका कारण उद्योगले प्रत्येक हप्ता करिब ४ मिलियन पाउन्ड बराबरको निर्यात गुमाइरहेको बताए। यो निर्णयले उद्योगलाई ठूलो राहत दिएको समेत उनले बताएका छन् ।

