काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार चौथो दिन घट्दै शुक्रबार एक साताभन्दा बढी अवधिको न्यून स्तरमा पुगेको छ। बढ्दो कच्चा तेलको मूल्यले मुद्रास्फीति पुनः चर्किने चिन्ता बढाएपछि अमेरिकी ब्याजदर लामो समयसम्म उच्च रहने अनुमानले सुन बजारमा दबाब परेको विश्लेषकहरूले बताएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.७३ प्रतिशत अर्थात ८१.९३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार ११५ डलरमा झरेको छ । यो मे ६ यताकै सबैभन्दा कम स्तर हो। यससँगै सुनको मूल्य यो साता मात्रै २.१ प्रतिशतले घटेको छ।
यस अवधिमा अमेरिकी डलर सूचकांक एक प्रतिशतभन्दा बढीले बढेकाले अन्य मुद्राधारकका लागि सुन थप महँगो बनेको छ। बजार विश्लेषकहरुका अनुसार बढ्दो तेल मूल्यले मुद्रास्फीति पुनः केन्द्रमा ल्याएको, जसका कारण अमेरिकी ट्रेजरी प्रतिफल र डलर दुवै बलियो बनेका छन्। यसको प्रत्यक्ष असर सुनमा परेको उनीहरुको तर्क छ ।
अमेरिकी १० वर्षे ट्रेजरी प्रतिफल करिब एक वर्षयताकै उच्च स्तरमा पुगेपछि ब्याज नआउने सम्पत्तिका रूपमा रहेको सुनमा लगानीकर्ताको आकर्षण घटेको देखिएको छ।
इरान युद्धका कारण विश्व बजारमा कच्चा तेल आपूर्तिमा दबाब कायम रहँदा ब्रेन्ट क्रुडको मूल्य यो साता ५.५ प्रतिशतले बढेर प्रतिव्यारेल १०६ डलरमाथि पुगेको छ। विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा आपूर्ति अवरोधले ऊर्जा बजार थप तनावग्रस्त बनेको छ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इरान तनावपछि सुनको मूल्य करिब १३ प्रतिशतले घटिसकेको बताइएको छ। ऊर्जा मूल्यवृद्धिका कारण मुद्रास्फीति चर्किने र अमेरिकी फेडरल रिजर्भले ब्याजदर उच्च राख्न सक्ने अनुमानले सुन बजार कमजोर बनेको हो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने उच्चस्तरीय भेटवार्तातर्फ पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ। दुई देशबीच व्यापार, लगानी तथा ताइवान सम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

