काठमाण्डौ । भारत सरकारले चाँदीको आयातमा तत्काल लागू हुने गरी कडा प्रतिबन्ध लगाएको छ। सरकारी आदेशअनुसार अब ९९.९ प्रतिशत शुद्धता भएका चाँदीका बार तथा अर्ध–प्रशोधित चाँदीका अधिकांश उत्पादनहरू ‘प्रतिबन्धित’ श्रेणीमा राखिएका छन्।
यससँगै ९९ प्रतिशत शुद्धता भएका चाँदीका बार, कच्चा चाँदी, चाँदीको पाउडर र सुन र प्लेटेनियमको जलप भएको चाँदी मगाउन भारत सरकाबाट अनुमति लिनु पर्ने भएको छ ।
यो निर्णयसँगै भारतले चाँदी आयातलाई नियन्त्रण गर्दै विदेशी मुद्रा सञ्चिति तथा भारतीय रुपैयाँमाथिको दबाब कम गर्ने प्रयास गरेको विश्लेषण गरिएको छ। भारत विश्वकै सबैभन्दा ठूलो चाँदी उपभोक्ता देशमध्ये एक हो र आफ्नो कुल मागको ८० प्रतिशतभन्दा बढी आयातमार्फत पूरा गर्दै आएको छ।
गत साता मात्रै भारत सरकारले सुन तथा चाँदी आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो। उच्च तेल मूल्यका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले यस्तो कदम चालेको बताइएको छ।
भारतीय बजारमा चाँदीको आपूर्ति घट्ने र स्थानीय मूल्यमा प्रिमियम बढ्न सक्ने अनुमान गरिएको छ। विश्लेषकहरुका अनुसार आयात नियन्त्रणले स्थानीय बजारमा आपूर्ति कडा बनाउनेछ र आगामी हप्ताहरूमा चाँदी प्रिमियममा कारोबार हुन सक्छ।
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०२५/२६ मा भारतले करिब १२ अर्ब अमेरिकी डलर बराबरको चाँदी आयात गरेको थियो, जुन अघिल्लो वर्षको ४.८ अर्ब डलरभन्दा निकै बढी हो। अप्रिल महिनामा मात्रै चाँदी आयात १५७ प्रतिशतले वृद्धि भएको देखिएको छ।
भारतमा चाँदीको प्रयोग गहना, सिक्का, बार तथा सौर्य ऊर्जा र इलेक्ट्रोनिक्स उद्योगमा व्यापक रूपमा हुने गर्दछ। पछिल्लो समय परम्परागत गहनाभन्दा लगानी प्रयोजनका लागि चाँदी खरिद बढेको र सिल्भर ईटीएफमा लगानी ऐतिहासिक रूपमा उकालो लागेको बताइएको छ।
विश्लेषकहरूका अनुसार नयाँ व्यवस्थाले औद्योगिक प्रयोजनका लागि सीमित आयात अनुमति दिन सक्ने भए पनि लगानीका लागि हुने ठूलो परिमाणको आयातलाई निरुत्साहित गर्नेछ।

