काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि थप आक्रमण गर्न तयार रहेको चेतावनी दिएका छन्। उनले इरानले शान्ति सम्झौतामा सहमत नभए केही दिनभित्रै परिस्थिति तीव्र रूपमा बिग्रन सक्ने बताएका छन्।
वाशिङ्टन नजिकको संयुक्त सैन्य आधारमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यदि हामीले चाहेको उत्तर पाएनौं भने अवस्था धेरै छिटो बदलिन सक्छ। हामी पूर्ण रूपमा तयार छौं । ’ उनले केही दिनसम्म वार्ताको परिणाम पर्खिन सकिने पनि संकेत गरे।
ट्रम्पले केही दिन अझै वार्ताको नतिजा पर्खन सकिने संकेत गरे पनि इरानलाई आणविक हतियार बनाउन नदिने आफ्नो अडान दोहोर्याए। उनले ‘सम्झौता हुन्छ, नभए केही कडा कदम चाल्नुपर्छ’ भन्ने चेतावनी दिएका छन्।
यता इरानले भने पुनः आक्रमण भए युद्ध मध्यपूर्वभन्दा बाहिरसम्म फैलिन सक्ने चेतावनी दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सले जारी गरेको वक्तव्यमा अमेरिकाको नयाँ आक्रमणले क्षेत्रीय युद्धलाई विश्वव्यापी स्वरूप दिन सक्ने उल्लेख गरिएको छ।
इरानका राष्ट्रपति मासोद पेजेस्कीयनले वार्ताका लागि तेहरान अझै खुला रहेको बताए पनि दबाबमार्फत इरानलाई झुकाउन नसकिने प्रतिक्रिया दिएका छन्। उता इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले खुला र गोप्य रूपमा नयाँ आक्रमणको तयारी गरिरहेको आरोप लगाएका छन्।

