काठमाण्डौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर प्रभावकारी आयोजना मात्रै अघि बढाउनुपर्ने बताएका छन्।
उनले अहिलेको बजेट प्रणाली ‘LMBIS मन्त्रीको जस्तो’ भएको टिप्पणी गर्दै विषयगत मन्त्रालयको प्राथमिकता कमजोर बनेको धारणा राखे।
मध्यपहाडी राजमार्गलाई उदाहरण दिँदै उनले “सांसद घर जाने बाटो” जस्तो बनाइएको टिप्पणी गरे। अब पहाड काटेर सुरुङमार्ग निर्माण गर्ने सोच आवश्यक रहेको उनको भनाइ थियो।
पाण्डेले भूमि प्रयोगसम्बन्धी कानुन सुधार नगरेसम्म आर्थिक रूपान्तरण सम्भव नभएको बताए। कृषि, उद्योग, आवास र व्यवसायका लागि छुट्टाछुट्टै भू–वर्गीकरण गर्नुपर्ने प्रस्ताव उनले राखे।
पर्यटन क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित विशेष योजना ल्याउनुपर्ने, जिर्ण सरकारी उद्योगबारे स्पष्ट नीति लिनुपर्ने तथा सरकारी कार्यालयमा अनावश्यक वस्तु खरिद रोक्नुपर्ने सुझाव पनि उनले दिए।
कर्मचारीको संख्या २० प्रतिशतसम्म घटाउन सकिने भन्दै प्रशासनिक खर्च नियन्त्रणमा समेत उनले जोड दिए।

